थप समाचारबिहीबार, जेठ ८, २०७१
विद्यार्थी भर्ना अभियानको रकम दुरुपयोग
देव पचभैया, पाल्पा
विद्यार्थी भर्ना अभियानका लागि आउने बजेट पाल्पामा भने दुरुपयोग हुने गरेको छ । हरेक वर्ष केन्द्रबाट आउने रकम जिल्ला शिक्षा कार्यालय, पाल्पाले दुरुपयोग गर्दै आएको हो ।
कार्यालयले भर्ना अभियान शिर्षकमा आउने रकमको कुनै रेकर्ड राखेको पाइएको छैन । अभियानका लागि रकम आए पनि पाल्पामा भने निशुल्क रुपमा अभियान संचालन हुने गरेको छ ।
तीन वर्षदेखि अभियानको नाममा आएको रकम दुरुपयोग हुँदै आएको कार्यालयकै एक कर्मचारीले बताउँछन् । अभियानका लागि आउने रकम गरिब, दलित, पिछडिएका, विद्यालय छाडेका र सिमान्तकृत बालबालिकाको पहिचान गरी विद्यालयमा ल्याउन खर्च गर्नुपर्छ ।
तर, अझै पनि पाल्पामा बोटे, माझी, दलित, कुमाल र विपन्न परिवारका बालबालिका विद्यालय बाहिर रहेको विभिन्न अध्ययनले देखाएको छ । पाल्पामा रहेको १८ स्रोतकेन्द्रका प्रमुखहरुले भर्ना अभियानका लागि रकम नपाएको गुनासो गरेका छन् ।
अभियानका लागि केन्द्रबाट हरेक वर्ष रु.२५ हजार रकम निकाशा हुँदै आएको छ । पछिल्लो तीन वर्ष यता अभियान चलाउन स्रोत केन्द्रले रकम नपाएको अर्गली स्रोत केन्द्र प्रमुख पदमप्रसाद न्यौपानेले जानकारी दिए ।
जिल्ला शिक्षा कार्यालयका कार्यक्रम अधिकृत लोकनाथ आचार्यले अभियानका लागि आएको बजेट फारम छापेर स्रोत व्यक्तिलाई पठाउने गरिएको बताए । उनका अनुसार फ्ल्याक्स ब्यानर, पत्रिकामा सूचना दिन कार्यालयले बजेट खर्च गर्ने गरेको छ ।
