समाचारशनिबार, जेठ १०, २०७१
साझा प्रकाशनका महाप्रबन्धक झाद्वारा राजीनामा
साझा प्रकाशनका महाप्रबन्धक झाले राजधानीमा पत्रकार सम्मेलन गरेर पदबाट राजीनामा दिएको घोषणा गरिन् । रिपोर्टर्स क्लबमा १० जेठमा आयोजित पत्रकार सम्मेलनमा उनले राज्यबाट हौसलाको सट्टा सधैं लान्छना, अभियोग र आरोप मात्र पाएकोले राजीनामा दिएको बताइन् ।
उनले थपिन्, “आज मेरो जन्मदिनकै अवसर पारेर राजीनामा दिँदैछु ।” दयनीय अवस्थामा रहेको साझा प्रकाशनलाई आफूले निक्कै मेहनत गरेर सुधार गर्दागर्दै पनि संस्थाप्रति सबैले आँखा लगाएको उनले टिप्पणी गरिन् ।
उनल भनिन्, “चारपटक मलाई अख्यिारले सफाइ समेत दिएको अवस्थामा फेरि सरकारद्वारा गठित उच्चस्तरीय साझा सुदृढीकरण तथा छानबीन आयोगले पनि सफाई दिएको थियो, तर मलाई पटकपटक विभिन्न लान्छना लगाइ उजुरी हाल्ने काम भैरह्यो ।”
विधि र प्रकृयाअनुसार संस्थालाई अगाडि बढाएको दावी गर्दै उनले कानुनी प्रकृयाअनुसार योग्यता, कार्यक्षमता र इमान्दारीतालाई प्राथमिकतामा राख्दै संस्थामा कार्यरत अस्थायी द्वितीय माधव थपलियालाई अस्थायी प्रथममा बढुवा गर्दा अख्तियारले फेरि मुद्दा दायर गरेको बताइन् । “अख्तियारले मुद्दा दायर गरेपछि गरिमामय संस्थाको साख जोगाउन पनि पदमा बसिरहन उपयुक्त ठानिन र राजीनामा गरेको हो,” उनले बताइन् ।

