समाचारशनिबार, जेठ १०, २०७१
न्यायाधीश उपाध्याय र जोशीको सुनुवाइ
संसदीय सुनुवाइ विशेष समितिले १० जेठमा सर्वोच्च अदालतमा स्थायी न्यायाधीशका लागि सिफारिश भएकामध्ये गोविन्द उपाध्याय र दीपकराज जोशीको सुनुवाइ गरेको हो । सभासदले उनीहरुको कार्यक्षमतासँगै व्यक्तिगत आचरण लगायतका आरोपबारे प्रश्न सोधेका थिए ।
दुवै जनालाई सभासदले न्याय परिषद बैठकमा सर्वोच्च अदालतका न्यायाधीश साहले परेको नोट अफ डिसेन्ट बारे धारणा मागेका थिए । जवाफमा दुवै न्यायाधीशले साहको नोट अफ डिसेन्ट प्रति कडा प्रतिक्रिया दिए ।
न्यायाधीश जोशीले नोट अफ डिसेन्टलाई खच्चडको कथाको संज्ञा दिएका छन् भने उपाध्यायले न्यसलाई रुल अफ गेम भनेका छन् । उपाध्यायले नोट अफ डिसेनट बारे भने, “यो रुल अफ गेम हो, त्यसैले सहज रुपमा लिनुपर्छ ।”
जोशीले भने सडक बनाउँदा खच्चडले काम पाउँदैन भनेर बिरोध गरेजस्तै न्यायाधीश साहले नोट अफ डिसेन्ट लेखेको बताए ।
सर्वोच्चमा नियुक्तिका लागि न्याय परिषदले सिफारिश गरेका ८ न्यायाधीशको सुनुवाइ ९ जेठदेखि शुरु भएको हो । अझै ४ न्यायाधीशको सुनुवाइ हुन बाँकी छ ।
न्याय परिषदले न्यायाधीशमा वैद्यनाथ उपाध्याय, गोपाल पराजुली, दीपकराज जोशी, गोविन्दकुमार उपाध्याय, देवेन्द्रगोपाल श्रेष्ठ, ओमप्रकाश मिश्र, चोलेन्द्र समशेर राणा र जगदिश शर्मा पौडेललाई ९ बैशाखमा सिफारिश गरेको थियो ।
