समाचारआइतबार, जेठ ११, २०७१
प्रधानमन्त्रीद्वारा शीर्ष नेतासँग परामर्श
११ जेठ विहान बालुवाटारमा प्रधानमन्त्री सुशील कोइरालाले नेपाली कांग्रेस, एमाओवादी, मधेशी जनअधिकार फोरम लोकतान्त्रिक, सद्भावना पार्टी, राष्ट्रिय मधेश समाजवादी पार्टीलगायतका नेतासँग १२ जेठदेखि हुने भारत भ्रमणका बारेमा परामर्श गरेका हुन् । भेटमा नेताहरुले क्षेत्रीय र द्विपक्षीय सहयोग, शान्ति, स्थायित्व र समृृद्धिका विषयमा केन्द्रित रहेर भारतसँग कुराकानी गर्न प्रधानमन्त्रीलाई सुझाएका थिए ।
छलफलमा सहभागी मधेश समाजवादी पार्टीका अध्यक्ष शरत्सिंह भण्डारीले दुई देशबीचको सम्बन्धलाई बलियो पारी सहयोग बढाउने गरी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसमक्ष प्रस्तुत हुन कोइरालालाई सुझाव दिएको बताए । मोदीको शपथग्रहण समारोहमा नेपालका सम्पूर्ण दलहरुका तर्फबाट शुभकामना दिन पनि प्रधानमन्त्रीलाई आग्रह गरिएको छ ।
अध्यक्ष भण्डारीका अनुसार लामो समयदेखि नेपालमा भारतबाट उच्चस्तरको भ्रमण नभएको हुनाले भारतीय प्रधानमन्त्रीलाई प्रथम विदेश भ्रमण नेपालबाटै शुरु गर्नका लागि निमन्त्रणा गर्न पनि सुझाव दिइयो ।
प्रधानमन्त्री कोइरालाले भारत भ्रमणबारे एक दिनअघि नेकपा एमालेका पदाधिकारी र कूटनीतिक क्षेत्रका विज्ञसँग परामर्श गरेका थिए ।
भारतीय प्रधानमन्त्रीले आफ्नो शपथ ग्रहण समारोहमा प्रधानमन्त्री कोइरालासहित सार्क राष्ट्रका सरकार प्रमुखलाई निमन्त्रणा गरेका छन् ।
रासस
