समाचारआइतबार, जेठ ११, २०७१
न्यायाधीश राणाको जवाफः विषयभन्दा बाहिर गएर टिप्पणी भयो
राणा विराटनगर पुनरावेदन अदालतमा रहँदा तासको म्यारिज खेललाई जुवा होइन भनी गरेको निर्णयका बारेमा उठेको प्रश्नमा जवाफ दिंदै उक्त मुद्दामा तथ्यका आधारमा प्रतिवादीलाई सफाई दिएको दाबी गरेका छन् ।
उनले प्रतिवादीले म्यारिज खेलको नियमका बारेमा उल्लेख गरेकोले आफूले त्यसलाई थप ब्याख्या गरेको मात्रै बताए
उनले जेपी गुप्ताको विषयमा सर्वोच्चको फैसलालाई गम्भीर न्यायधीशको हैसियतले आफूले आत्मसात गर्ने भन्दै थपे, “ मैले आफ्नो अधिकार प्रयोग गर्दा अर्काको अधिकारलाई पनि सम्मान गर्नु पर्छ। न्यायधिशको नियुक्ति वर्खास्त र कारबाहीको अधिकार न्याय परिषदलाई मात्रै हुन्छ।”
उनले जेपी गुप्ताको मुद्दाको फैसलामा आफू विचलन भएर नगरेको स्पष्टिकरण दिंदै भने, “तर, मुद्दाको विषयबस्तुभन्दा बाहिर गएर जुन किसीमको फैसला गर्नु भएको छ (सर्वोच्चको फैसला)त्यसलाई सम्मान गर्छु। उनले थपे, “म त्यो आदेशबाट पीडित भएकोले मैले त्यो फैसला आफैले हेर्न पाउ ता कि यो कानुन, संविधान र अन्तराष्ट्रिय प्रचलन बारे बुझ्न पाउनै पर्छ।”
उनले सर्वोच्च अदालतलले मुद्दामा उठेको विषय भन्दा बाहिर गएर आफूविरुद्ध टिप्पणी गरेको आरोप समेत लगाए ।
उनले भने, “कानूनको क्षेत्राधिकार बाहिर गएर विवेचना भयो भने मुलुकी ऐनको दफा ३५ अनुसार त्यो शून्य हुन्छ। न्यायधीशलाई संसारमा कही पनि न्यायसम्पादनका विषयलाई टिप्पणी लेखिंदैन।”
मुद्दाहरुमा बादी वा प्रतिवादीले जित्ने भन्दै राणले पुनरावेदनले गरेको फैसलामा सर्वोच्चले टिप्पणी गर्दै जाने हो भने हाम्रो न्याय प्रणाली धरासायी हुने समेत दाबी गरे ।
सर्वोच्चमा न्यायाधीश बन्नका लागि न्याय परिषदका एक सदस्यलाई दुई करोड रुपैयाँ दिएको भन्ने समितिका सदस्यले उठाएको प्रश्नको जवाफ दिंदै उनले समितिका प्रत्येक सदस्यलाई दुई दुई करोड दिन रुपैयाँ ट्याक्टरमा बोकेर ल्याउनु पर्ने भन्दै आफूलाई लगाइएको आरोप आधारहिन भएको दाबी गरेका थिए ।
————————————————————————————-
न्यायाधीश राणालाई सुनुवाई समितिको प्रश्न
सर्वोच्च अदालतको न्यायाधीशका लागि प्रस्तावित चोलेन्द्र शम्सेर राणाको संसदीय सुनुवाइ विशेष समितिले सुनुवाइ गरिरहेको छ।
न्याय परिषद्ले सिफारिस गरेका ८ जनामध्येका चोलेन्द्र शम्शेर राणासँग सुनुवाई समितिका सदस्यहरुले प्रश्न सोधिरहेका छन् ।
समितिकी सदस्य अष्टलक्ष्मी शाक्यले राणालाई सर्वोच्चकै न्यायाधीशले न्यायसम्पादनमा विचलित भएको भन्दै कारवाहीको सिफारिस गरे पनि न्यायपरिषदले सर्वोच्चको न्यायाधीशमा सिफारिस गरेको भन्दै सोधिन, “ तपाईले आफूलाई सिफारिसमा पार्न कति करोड खर्च गर्नु भयो ? सर्वोच्चले कारबाही गर भनेकै व्यक्तिलाई परिषदले सिफारिस गर्दा तपाई आफैंलाई अप्ठ्यारो लागेको छैन ?”
त्यसैगरी अर्का सदस्य प्रेमबहादुर सिंहले राणाले विशेष अदालतमा रहँदा जयप्रकाश प्रसाद गुप्तालाई सफाई दिएको बारेमा प्रश्न गरेका छन् । उनले सर्वोच्चमा पुगेपछि पनि त्यस्तै फैसला गर्ने हो कि भनेर सोधे ।
युवराज ज्ञावालीले गत वर्ष मुख्य न्यायधीशमा अस्वीकार गरेका उनलाई अहिले सर्वोच्चको लागि कसरी योग्य मान्ने र तासलाई बुद्धिको खेल भनी गरेको फैसलाबारे स्पष्ट पार्न आग्रह गरेका छन् ।
जवाफका क्रममा राणाले आफूले ३६ सालदेखि ५२ सम्म कानून व्यवसायीको रुपमा काम गरेको, ५३ सालमा न्यायधीशमा नियुक्त भएपछि विभिन्न ठाउँमा न्यायधीशको रुपमा काम गरेको जानकारी गराए।
संविधानले तय गरे अनुसार प्रतिस्पर्धात्मक बहुदलीय लोकतन्त्रको अवधारणा अनुसार स्वतन्त्र न्यायपालिकाप्रति प्रतिवद्ध रहि शक्तिपृथकिकरणमा रहनु पर्छ भन्ने आफ्नो मान्यता रहेको बताए ।
त्यस्तै उनले संविधानको व्यवस्था अनुसार काम गर्ने प्रतिवद्धता जनाउँदै न्यायधीशको क्षमता, विवेक र अनुभवको आधारमा न्याय सम्पादन सम्भव रहने बताए ।
