समाचारमंगलबार, जेठ १३, २०७१

एसएसपी खरेलको हेडक्वार्टरमा सरुवा

हिमालखबर

डिआइजी बढुवा प्रकरणमा विवादास्पद अभिव्यक्ति दिएको भन्दै एसएसपी रमेश खरेललाई काठमाडौं प्रहरी प्रमुखबाट हटाईएको छ ।

गृह मन्त्रालयको दबाबमा प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले खरेललाई १२ जेठमा हेडक्वार्टरमा सरुवा गर्ने आदेश दिएका हुन्।

काठमाडौंमा गुन्डा तह लगाउन ‘अपरेसन’ शुरु गरेको, गृहमन्त्री गौतमलाई भेट्न नगएको, राजनीतिक दलका कार्यकर्तालाई पक्राउ गरेको, प्रहरी संगठनकै बारेमा विवादास्पाद अभिव्यक्ति दिएको भन्दै उनलाई सरुवा गर्न राजनीतिक दलका नेता र प्रहरीभित्रकै उच्च अधिकारीहरूले समेत दबाब दिएका थिए ।

जनतामाझ भने खरेलको कामको सकारात्मक चर्चा भएकै कारण अहिलेसम्म खरेलको सरुवा हुन सकेको थिएन ।

खरेलले १० जेठमा महेन्द्र पुलिस क्लबमा आयोजित सम्मान कार्यक्रममा डीआईजीबाट एआईजीमा बढुवा हुन पैसाको चलखेल भइरहेको टिप्पणी गरेका थिए। उक्त कार्यक्रममा उपस्थित पराष्ट्रमन्त्री महेन्द्र पाण्डेलाई समेत उनले यसबारेमा ध्यानाकर्षण गराएका थिए ।

गृहमन्त्री गौतमले खरेल आफूलाई भेट्न नआएको कुरा सार्वजनिक गरेर उनीप्रति असन्तुष्टि प्रकट गरेका थिए।

खरेलले पनि एक टेलिभिजन अन्तर्वार्तामा नामै लिएर केही सीमित प्रहरी अधिकृतलाई स्वच्छ र अरूलाई भ्रष्टका रूपमा चित्रण गरेपछि उनी संगठनभित्रै आलोचित भएका थिए।

प्रहरी महानिरीक्षक अर्यालसँगै प्रहरी सेवामा प्रवेश गरेका केही डीआईजीहरूले तत्कालीन समयमै खरेलको सरुवाका निम्ति दबाब दिएका थिए। तर मिडियामा बोलेकै कारण खरेललाई सरुवा गर्दा त्यसले नराम्रो संकेत जाने भन्दै अर्यालले रोकेका थिए।

खरेलले १० जेठमा दिएको अभिव्यक्तिका कारण गृहमन्त्री वामदेव गौतमकै आदेशमा डीआजी विज्ञानराज शर्माको नेतृत्वमा उच्चस्तरीय छानबिन समिति गठन भए पनि त्यसको प्रतिवेदन नआउँदै उनीमाथि दबाबका भरमा कारबाही भएको हो।

काठमाडौं प्रहरी प्रमुखमा एसएसपी उत्तम कार्की, सर्वेन्द्र खानाल, योगेश्वर रोमखामीलगायतको नाम चर्चामा छ।
काठमाडौं क्षेत्र नम्बर–२ को उपनिर्वाचनका लागि आचारसंहिता लागु भइसकेकोले निर्वाचन आयोगको पूर्व सहमति लिएर काठमाडौं प्रहरी प्रमुख तोक्ने गृहमन्त्रालयको तयारी छ ।

नेपाल प्रहरीको नियमावली २०७१ ले एसएसपी सरुवाको अधिकार गृहमन्त्रालयलाई दिएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>