समाचारमंगलबार, जेठ १३, २०७१
सुन र नगद लुटने असईसँग बयान लिइँदै
प्रहरी सहायक निरीक्षक (असई) नै सुन र नगद लुटपाटमा संलग्न भएको आरोप लागेपछि प्रहरी प्रधान कार्यालयबाट आएको विशेषज्ञ टोलीले असई साहसँग बयान लिएको छ । जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा रहेका असई साहले लुटिएको सुनबारे कुनै पनि जानकारी नदिएपछि विशेषज्ञ टोलीले पोलिग्राफ टेष्ट समेत गरिएको प्रहरीले जनाएको छ ।
वीरगञ्जको सीमावर्ति शहर रक्सौल बस्ने रवि गोयलले आफ्नो सुन लुटिएको र लुटेराहरु बीआर ०५ सी ८१६६ नम्बरको भारतीय मोटरसाइकलमा सवार रहेको उजुरी गरेपछि प्रहरीले उक्त मोटरसाईकल हिरासतमा रहेका असई साहको बहिनी ज्वाइँको नाममा बिहारमा खरिद गरिएको पत्ता लगाएको थियो । लुटपाटमा प्रयोग भएको मोटरसाइकल साहकै निवासबाटै फेला परेको थियो ।
गोयलले काठमाण्डौंबाट दुई किलो सुन खरिद गरेर रक्सौल लैजानका लागि वीरगन्ज ल्याएका थिए । सुन खरिद गर्न प्रयोग भएको रकम अवैध र सुन समेत अवैध भएकाले गोयलले सुन दाबी गर्न नआउने विश्वासका साथ असई साहले २ किलो सुन र ७ लाख रुपैंया लिएर फरार भएका थिए । घुमुवा प्रहरीको रुपमा कार्यरत असई साह लुटपाट र ठगीमा पहिले पनि कारवाहीमा परिसकेका व्यक्ति हुन् ।
७ जेठमा वीरगन्जको घण्टाघर चोकमा बिहान ५ बजे सुलभ ट्राभल्सबाट ओलिर्एका रवि गोयललाई पेस्तोल तेस्र्याएर असई साह र अर्का एकजनाले गोयलको जुत्तामा लुकाइएको दुई किलो सुन खोसेर फरार भएका थिए ।
असई साहले सुन लुटपाटमा आफ्नो संलग्नता नरहेको बताउँदै आएका छन् ।
बिम्मी शर्मा, वीरगञ्ज
