समाचारमंगलबार, जेठ १३, २०७१
अनुमोदित आठै न्यायाधीश इजलासमा
न्यायाधीश वैद्यनाथ उपाध्याय, गोपाल पराजुली, दीपकराज जोशी, गोविन्दकुमार उपाध्याय, ओमप्रकाश मिश्र, देवेन्द्रगोपाल श्रेष्ठ, चोलेन्द्रशम्शेर जबरा र जगदीश शर्मा पौडेलको नाम १२ जेठमा संसदीय सुनुवाई समितिले अनुमोदन गरेको थियो ।
आज बिहान प्रधानन्यायाधीश दामोदरप्रसाद शर्माबाट शपथ लिएका न्यायाधीशहरुको इजलास पनि तोकिसकिएको छ । सर्वोच्च अदालतका सहायक प्रवक्ता बाबुराम दाहालका अनुसार सबै न्यायाधीशबीच आन्तरिक छलफल भइरहेको छ ।
आठ न्यायाधीश थपिएपछि सर्वोच्च अदालतमा हाल स्थायी न्यायाधीशको सङ्ख्या १३ पुगेको छ । दुई स्थायी न्यायाधीशको दरबन्दी अझै खाली छ । मुद्दाको चाप हेरेर आवश्यक मात्रामा अस्थायी न्यायाधीश थप गर्न सकिने संवैधानिक प्रावधानबमोजिम विगतको नियुक्तिलाई हेर्दा अझै १० अस्थायी न्यायाधीश थप गर्न सकिने अवस्था छ ।
रासस
