थप समाचारबिहीबार, जेठ १५, २०७१

नेपालमा बालगृह– फस्टाउँदो ठगी धन्दा

हिमालखबर

पिटर प्याटिसन

ह्याप्पी होमबाट उद्दार गरिएका बालबालिका । तस्वीर: पिटर प्याटिसन

नेपालका हिमाल,  मोहक निकुञ्ज र गुलजार गाउँबस्ती  हेर्न आउने विदेशी पर्यटकको संख्या बढदो छ । नेपाल घुम्न आएकी स्पेनकी २६ वर्षीया मरिना अर्गेशियाको गर्नै पर्ने कामहरुको सूचिमा केही समय अनाथ बालबालिकाको सेवा गर्ने पनि उल्लेख थियो ।

तर अर्गेशियालाई उनले अनाथालय/बालगृहका नाममा विदेशीलाई झुक्याएर ठग्ने उद्योगलाई सहयोग गर्दैछिन भन्ने थाहा थिएन ।
दोहोरो धोका दिइने यो ठगी धन्दामा एकातिर नेपालका ग्रामिण क्षेत्रका गरिब परिवारको शोषण भइरहेको छ भने अर्कोतर्फ विदेशीहरुलाई झुक्याएर ठग्ने काम भइरहेको छ । यस्तो अवस्थामा कतिपय पर्यटकहरुले अनजानमै बाल वेचविखनलाई सहयोग पुर्‍याइरहेका छन् ।

नेपालको कुल गाहस्र्थ उत्पादनमा पर्यटन क्षेत्रको योगदान करिब ३ प्रतिशत छ । सन् २०१२ मा मात्रै नेपाल आउने विदेशी पर्यटकको संख्या ६ लाख नाघेको थियो ।

स्वयम्सेवा वा समाज सेवा नेपालमा अहिले निकै चलेको ‘उद्योग’ हो । यहाँका थुप्रै एजेन्सीहरुले नेपाल आउने विदेशीहरुलाई यहाँ रहेका ८०० भन्दा बढी अनाथालयमा साता वा महिनासम्म काम गर्न प्रस्ताव गरिरहेका हुन्छन् ।

यस्ता फर्जी अनाथालायहरु ८० प्रतिशतभन्दा बढी काठमाडौं उपत्यका, पोखरा, चितवन जस्ता चर्चित पर्यटकीय क्षेत्रमा छन् । वालअधिकारकर्मीहरुका अनुसार यहाँ दर्ता नै नभएका अनाथालय अझ धेरै छन् ।

अनाथालयमा राखिएका बालबालिकामध्ये ८५ प्रतिशतका कम्तीमा पनि एकजना अभिभावक जिवितै रहेको युनिसेफले गरेको अनुसन्धानमा देखिएको छ ।

नेपालका गरीब परिवारका बालबालिकालाई राम्रो शिक्षा दिने लोभ देखाएर यस्ता संस्थाहरुले ल्याउँछन् र ठगी धन्दा चलाउँछन् ।

गम्भीर स्वास्थ्य अवस्था भएकी छोरीको उपचार खर्च व्यहोरिदिने र अरुलाई पढाइदिने शर्तमा लोजुङ शेर्पाले आफ्ना तीन सन्तान ‘ह्याप्पी होम’ लाई जिम्मा लगाइन् । तर केही समयपछि उनले छोरीको उपचारका लागि विदेशीले दिएको सहयोग अनथालयका मालिकले आफै लिएको थाहा पाएपछि सन्तान फिर्ता लिन काठमाडौं पुगिन् । तर, उनलाई बच्चाहरु फिर्ता दिइएन् । त्यसपछि प्रहरीले हस्तक्षेप गर्दा शेर्पाका बच्चाहरु त्यहाँ नभई अरु नै ठाउँमा काममा लगाइएको थाहा लाग्यो । अहिले ह्याप्पी होमका सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ ।

ह्याप्पी होममा अनुगमनका लागि पैरवी गरेको ‘फ्रिडम म्याटर्स’का प्रमुख कार्यकारी फिलिप होम्सका अनुसार कतिपय संस्थाहरुले बालबालिकाको अवैध ओसारपसार र वेचविखन समेत गरेको पाइएको छ ।

“यस्ता कथित अनाथालयमा रहेका बालबालिका सञ्चालकका सम्पत्ति जस्तै बन्छन र उनीहरुसँग कैदीजस्तै व्यवहार गरिन्छ,” होम्स भन्छन, “अनाथालयले घरपरिवार भएका बालबालिकालाई अनाथ भन्दै कमाइ खाने धन्दा चलाएका छन”

स्लोभाकियाकी युवती डोरोटा नोतोभाले सन् २००८ मा ह्याप्पी होममा स्वम्सेवा गर्न शुरु गरिन् । उनले त्यहाँका बालबालिकाको दुर्दशा देखेपछि प्रत्येक बालबालिका लागि प्रयोजक खोजिन । उनका अनुसार त्यसबेला विदेशीहरुबाट सहयोगस्वरुप १ लाख २२ हजार पाउण्ड (करिब दुई करोड रुपैयाँ) जुटेको थियो । तर, त्यो रकम सबै सञ्चालकले राखेको उनले पछि मात्रै चाल पाइन् ।

“यो पैसा कमाउनकै लागि गरिएको धन्दा हो,” उनी भन्छिन, “सञ्चालक जहिले पनि भोलन्टियरलाई प्रभावमा पारेर पैसा धुत्ने ध्याउन्नमै हुन्थ्यो ।”

अर्गेशियाले नेपाल आएपछि वेबसर्च गर्दा ‘भोलनेपाल’ भन्ने वेबसाइट मार्फत नेपालका अनाथ बालबालिकाबारेमा थाहा पाइन् । तर त्यहाँ अनाथालयका बारेमा बढाइचढाइँ गरिएको उनलाई पछि मात्रै थाहा भयो ।

उनले ४८० डलर (करिब ४५ हजार रुपैयाँ) तिरेर एक हप्ता बालबालिकाको सेवा गर्न काठमाडौंस्थित अनाथालयमा पुगिन् । उनी भन्छिन, “त्यहाँ पुगेपछि मात्रै थाहा भयो बालबालिकाहरुलाई गलत काममा लगाइएको रहेछ, उनीहरुलाई पैसा कमाउने माध्यम बनाइएको देख्दा दुख लाग्यो ।”

सञ्चालकको शंकास्पद व्यवहार देखिपछि खोजबिन गर्दा त्यहाँ दुई दिदीबहिनीलाई उनका बाबुआमाले राम्रो शिक्षादिक्षाका लागि भन्दै दलाललाई पैसा तिरेर अनाथालयमा पठाएको थाहा पाइन् ।

अर्गेशिया भन्छिन, “तर ती दिदी–बहिनीलाई उनीहरुका बाबु–आमाले त्यागेको भन्दै उनीहरुको शिक्षाका लागि पर्यटकबाट अनुदान संकलन गर्ने काममा सञ्चालक लागेका थिए ।”

ती दुईमध्येकी एक बालिकाले सञ्चालकले आफूलाई जबरजस्ती गरेको खुलासा गरेपछि अर्गेसियाले बालअधिकारमा सक्रिय संस्था ‘एक्सन फर चाइल्ड राइट्स’ मा उजुरी गरेकी थिइन् । त्यसपछि प्रहरीले सञ्चालकलाई बलात्कार प्रयासको आरोपमा पक्राउ गर्‍यो ।

“निकै दुख लागेको थियो…. मसँग त्यसबारे भन्नलाई शब्दहरु नै छैनन्,” अर्गेसिया भन्छिन, “उसको ध्याउन्न नै पैसा कमाउने र बालबालिकाको शोषण थियो, पश्चिमाहरु आएर डोनेशन नदिने भए उसले अनाथालय खोल्ने नै थिएन ।”

एक्सन फर चाइल्ड राइट्सका महानिर्देशक जर्गन कोनिंग्स भन्छन, “म ठोकुवा गर्न सक्छु, अधिकांश बालगृहहरु बालसंरक्षण भन्दा अरु नै धन्दाका लागि सञ्चालित छन,” उनले थपे, “विदेशी स्वयम्सेवीहरुले गर्दा यस्ता बालगृहहरुको विश्वसनियता बढ्छ…. र थप स्वयम्सेवीहरु आउँछन्, त्यसमाथि उनीहरुले पैसा तिर्छन, यो दह्रो विजनेश मोडल बनेको छ ।”

उसो त सरकारलाई पनि यो समस्याका बारेमा थाहा नभएको होइन्, तर सरकार यत्रो ठूलो वेथितिलाई सुल्झाउन प्रयासमात्रै गरिरहेको छ । “यी बालबालिकाहरु पैसा उठाउनका लागि ‘सो पिस’ मात्रै हुन्, तर बालबालिकाले कति स्याहार पाउँछन र सञ्चालकले कति पैसा कमाउँछन भन्ने कसैलाई थाहा छैन,” केन्द्रीय बालकल्याण समितिका प्रमुख तारक धिताल भन्छन्, “हामीहरुले बालगृह (अनाथालय) का लागि न्यूनतम मापपदण्ड निर्धारण गरेका छौं तर, सधान र स्रोतको अभावमा हाम्रो अनुगमन प्रणाली अझै सशक्त हुन सकेको छैन ।”

नेपालमा अनथालय÷बालगृहको अनुगमन गर्ने जिम्मवारी बाल कल्याण समितिको भए पनि उसको क्षमतामाथि प्रश्नचिन्ह लागेको छ । ताजा रिपोर्ट अनुसार नेपालका ९० प्रतिशत बालगृहले न्यूनतम सरकारी मापदण्ड पूरा गरेका छैनन् ।

यद्दपी कनिंग्स सबै बालगृहहरुलाई एउटै डोकोमा राखेर हेर्न नमिल्ने भन्दै थप्छन, “यहाँ राम्रो गर्नेहरु पनि छन, धेरै गैरसरकारी संस्था र सामाजिक कार्यकर्ताहरुले उत्कृष्ट काम गरेका पनि छन् ।” स्वयमसेवा गर्नु राम्रो भएको भन्दै कनिंग्स भन्छन, तर कस्तो संस्थाका लागि काम गर्दैछु भन्ने बारेमा स्वयमसेवी जागरुक चाहीं हुनै पर्छ ।

बेलायती पत्रिका द गार्जियनमा प्रकाशित रिपोर्टको अनुवाद ।
यसअघि नै हिमालमा प्रकाशित बालगृह कि बालव्यापार रिपोर्ट पढ्नका लागि यहाँ क्लिक गर्नुहोस ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>