समाचारबिहीबार, जेठ १५, २०७१
कुर्सीमा बसिरहने चाहना छैनः प्रधानमन्त्री
नेपाल बार एसोसिएसनको विशेष संवैधानिक सम्मेलन र केन्द्रीय कार्यकारिणी परिषद्को १५ जेठमा शुभारम्भ गर्दै प्रधानमन्त्री सुशील कोइरालाले संविधान निर्माणको काम सक्दो चाँडो सकेर आफू सत्ताबाट बाहिरिन चाहेको बताएका छन् ।
२००७ यता नेपाली जनताले लोकतान्त्रिक संविधान निर्माणका लागि धेरै पटक आन्दोलन गरिसकेकाले अब समयमै लोकतान्त्रिक संविधान आउने र नेपाल प्रगतिको बाटोमा लाग्ने प्रधानमन्त्री कोइरालाले विश्वास व्यक्त गरे ।
उनले नवनियुक्त भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शपथग्रहण समारोहमा भारतलगायत सार्क राष्ट्रका राष्ट्र प्रमुख तथा सरकार प्रमुखहरूले नेपालको विषयमा चिन्ता जाहेर गरेको र यहाँको जलस्रोतको समुचित सदुपयोग गर्न पनि सुझाव दिएको उनले सुनाए ।
कार्यक्रममा सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश रामकुमारप्रसाद साहले २००७ सालदेखि जनअपेक्षाबमोजिम संविधान बन्न नसकेको र अव पनि कहिले संविधान निर्माण होला भन्ने चिन्ता लागेको बताए ।
उनले न्यायपालिका न्यायाधीश र कानून व्यवसायीको मात्र नभएर आम जनताको पनि भएकाले संविधान निर्माणका क्रममा न्यायपालिकाका विषयमा आफ्नो अनुकूलता हेरेर मात्रै निर्णय गर्न नहुने सुझाव दिए ।
नेपाल बार एसोसिएसनका अध्यक्ष हरिकृष्ण कार्कीले बारले पेस गर्ने प्रतिवेदनले संविधानसभामा विवादित विषयमा सहमसत गराउन सहयोग मिल्ने धारणा राखेका थिए ।
