समाचारशुक्रबार, जेठ १६, २०७१
रमेश खरेललाई कार्वाही गर्नु बेठिकः भट्टराई
एमाओवादी नेता बाबुराम भट्टराईले हालै नेपाल प्रहरीले ७ जना डिआजीलाई बढुवा गरी एआइजी बनाउँदा पैसाको चलखेल भएको भरपर्दो सूत्रबाट थाहा भएको उल्लेख गरेका छन् ।
उनले सामाजिक सञ्जाल ट्विटरमा टिप्पणी गर्दै प्रहरी बढुवामा पैसाको चलखेल भएको र त्यसबारे भेद खोल्ने इमान्दार अफिसरलाई कार्वाही गर्नु ठिक नभएको बताएका छन् ।
केही समयअघि काठमाडौं प्रहरी प्रमुख एसएसपी रमेश खरेलले परराष्ट्रमन्त्री उपस्थित कार्यक्रममा एआइजी बन्नका लागि नेपाल प्रहरीका केही डिआइजीहरु पैसाको ब्रिफकेस बोकेर नेताहरुको घरमा धाउन थालेको र त्यस्ताको बढुवा गर्न नहुने बताएका थिए ।
उक्त अभिव्यक्तिपछि गृहमन्त्रालयले खरेललाई हेडक्वार्टर तान्ने निर्णय गरेको थियो ।
