समाचारशुक्रबार, जेठ १६, २०७१
लमजुङमा तनाव, थप सशस्त्र बल आइपुग्यो
७ जेठमा लमजुङको बेसिशहरबाट वेपत्ता भएकी बाहुनडाँडा–८ कि ११ कक्षामा पढने किशोरीको शव १५ जेठमा मृत अवस्थामा फेला परेको थियो । मृतकका आफन्तले घटनाबारे यथार्थ विवरण सार्वजनिक र दोषीलाई कडा कारवाहीको माग गर्दै जिल्ला बन्द गराएका छन् ।
आफन्त, महिला समूह र स्थानीयवासीले गरेको आन्दोलनमा ठूलो घटना नभए पनि प्रहरी र आन्दोलनकारीबीच पटक पटक झडप भइरहेको छ । स्थिति असामान्य बन्दै गएको भन्दै तनहुँबाट करिब ३५ जनाको सशस्त्र प्रहरीको टोली बेसिशहर आइपुगेको छ ।
प्रहरीले मृत किशोरी बस्ने कोठाको अनुसन्धान गर्दा किशोरीको बलात्कारपछि हत्या भएको अनुमान गरेको भए पनि शव पानीमा डुबेका कारण पोष्टमार्टम रिपोर्टमा मृत्युको कारण र बलात्कार भएको हो वा होइन एकिन गर्न नसकिएको चिकित्सकहरुले बताएका छन् ।
शव पोष्टमार्टम गरिए पनि यथार्थ रिपोर्ट नआएको भन्दै मृतकका आफन्तले भने शव बुझेका छैनन् ।
पोष्टमार्टममा संलग्न चिकित्सकका अनुसार शवको टाउकोको पछिल्लो भाग, कानको पछाडि र योनीमा चोट लागेको छ भने पेटमा पानी जमेको छैन ।
योनीमा रगत जमेको हुँदा बलात्कार भएको हुनसक्ने अनुमान मात्रै गर्न सकिने भए पनि हत्या हो वा आत्महत्या भन्ने एकिन नभएको डा. क्षितिज सापकोटाले बताए ।
“शव पानीमा डुबेर ढाडिएकोले प्रमाणहरु नष्ट हुँदा यसै भन्न सक्ने अवस्था छैन,’ डा. सापकोटाले भने, “योनीमा रगत जमेको हुँदा बलात्कारपछि हत्या भएको हो की भनेर आशंका गर्ने ठाउँ भने छ ।”
उनले थप अनुसन्धान प्रहरीबाटै हुने पनि बताए ।
पीडितका परिवारले भने प्रहरीलाई उच्च तहबाट दबाब आएका कारण अभियुक्तलाई उन्मुक्ति दिन खोजेको आरोप लगाएका छन् ।
किशोरी हराएकै भोलिपल्ट अभियुक्त पक्राउ परेको भए पनि प्रहरीले अहिलेसम्म प्रारम्भिक अनुसन्धानको बयान बाहिर ल्याएको छैन । प्रहरी नायव उपरिक्षक अच्युत पुडासैनीले अनुसन्धान जारी रहेकाले अभियुक्तको बयान बाहिरा ल्याउन नमिल्ने र अभियुक्त छुटाउन कुनै दवाव नआएको दाबी गरेका छन् ।
युवराज श्रेष्ठ, लमजुङ
किशोरीको शव फेला, बलात्कारपछि हत्या भएको आशंका

