समाचारशुक्रबार, जेठ १६, २०७१
द्वन्द्वपीडित बालबालिका भेटेपछि भावुक भए प्रधानमन्त्री
१६ जेठमा प्रधानमन्त्री सुशील कोइरालालाई भेट्न पुगेका सशस्त्र हिंसाका बेला मारिएका सञ्चारकर्मीका छोराछोरीसँग प्रधानमन्त्री कोइरालाले द्वन्द्वकालमा मुलुकले ठूलो क्षति व्यहोर्नुपरेको र निर्दोषले पीडा भोग्नु दुर्भाग्यपूर्ण भएको भन्दै बालबालिकाको शिक्षामा कुनै कमी हुन नदिने बताएका छन् ।
द्वन्द्वपीडित बालबालिकाको अवस्था देखेर भावुक भएका प्रधानमन्त्री कोइरालाले भने, “द्वन्द्वबाट पीडित बालबालिकाको शिक्षादीक्षामा कुनै कमी हुन दिइने छैन ।”
सशस्त्र हिंसाका बेला माओवादी तथा सरकार पक्षबाट मारिएका १६ सञ्चारकर्मीका २८ बालबालिकालाई नेपाल पत्रकार महासङ्घका पूर्वअध्यक्ष विष्णु निष्ठुरीको संयोजकत्वमा गठित नेपाल चिल्ड्रेन एजुकेसन फन्डले भेटघाटको व्यवस्था मिलाएको थियो ।
फन्डले अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ र अष्ट्रेलियन पत्रकार कल्याण कोषको सहयोगमा ती बालबालिकाको खर्च जुटाउँदै आएको छ ।
उक्त फन्डले सन् २००९ देखि ती बालबालिकाको अध्ययनको खर्च व्यहोर्नाका साथै परिवारिक न्यास्रो मेटाउन र विद्यार्थीबीच आपसी मेलमिलाप गराउने हेतुले प्रत्येक वर्ष भेटघाट गराउँदै आएको निष्ठुरीले बताए ।
रासस
