थप समाचारशनिबार, जेठ १७, २०७१
फलेवास–कुर्घा जोड्ने पुल निर्माण
स्थानीय समुदायको सक्रियता र नेपाल सरकार सस्पेन्सन ब्रिज डिभिजन विभागको अगुवाइमा पर्वतको देविस्थानदेखि कुर्घा जोड्ने झोलुङ्गे पुल निर्माण भएको छ ।
लमायखोलामाथि निर्माण सम्पन्न भएको पुलको उचाइ १२६ मिटर र लम्बाइ २८६ मिटर छ । हालसम्म निर्माण सम्पन्न भएका झोलुङ्गे पुलमध्ये यो पर्वत जिल्लाको दोस्रो अग्लो झोलुङ्गे पुल हो ।
उक्त पुलको १६ जेठमा स्थानीय समाजसेवी तथा पुल निर्माण समितिका अध्यक्ष गङ्गाराज शर्मा पौडेलले उद्घाटन गरे ।
पुल निर्माण भएपछि पर्वतका दक्षिणी १६ गाविसका बासिन्दा प्रत्यक्ष रुपमा लाभान्वित भएका छन् । वर्षायाममा ग्रामीण सडक नियमित रुपमा सुचारु नहुने र सदरमुकाम कुस्मा बजारमा आवतजावत गर्नका लागि समस्या भोग्ने गरेका जिल्लाका निर्वाचन क्षेत्र नं २ अन्तर्गतका कुर्घा पाङ्राङ, बाच्छा, लङ्खुदेउराली लगायतका बासिन्दा लाभान्वित भएका हुन् ।
पुल उद्घाटन कार्यमा जिल्लाका विकास निर्माण कार्यका सरोकारवालालाई विशेष आमन्त्रण गरे पनि कोही पनि उपस्थित नभएको भन्दै विभिन्न वक्ताले दुखेसोसमेत व्यक्त गरेका थिए ।
