समाचारशनिबार, जेठ १७, २०७१
एमाओवादीमा जिम्मेवारी बाँडफाँड
एमाओवादीको १७ जेठमा बसेको केन्द्रीय समिति बैठकले नेताहरुको जिम्मेवारी बाँडफाँडगरेको हो । नयाँ जिम्मेवारी अनुसार एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले समग्र संगठनको जिम्मेवारी पाएका छन् ।
नेता बाबुराम भट्टराई र अग्नी सापकोटालाई संविधानसभा तथा व्यवस्थापिका संसद्, नारायणकाजी श्रेष्ठलाई अन्तर्राष्ट्रिय विभाग, पोष्टबहादुर बोगटीलाई संगठन अनुगमन जिम्मेवारी दिएको एमाओवादी प्रवक्ता दिनानाथ शर्माले जानकारी दिए ।
उनका अनुसार संगठन अनुगमन समितिको सचिवमा कृष्णबहादुर महरालाई तोकिएको छ । समितिमा सबै पदाधिकारी तथा स्थायी समिति सदस्य तथा लीलामणी पोखरेल, दीनानाथ शर्मा, रामचन्द्र झा, उर्मिला अर्याल र लेखराज भट्टसमेत सदस्य रहेका छन् ।
त्यसैगरी, संसदीय दलका उपनेता र संविधानसभा तथा व्यवस्थापिका संसदको जिम्मेवारी टोपबहादुर रायमाझी, स्कूलिङ विभागमा वर्षमान पुन, आर्थिक विभागमा हरिबोल गजुरेल र शक्ति बस्नेतले उत्पादन विभागको जिम्मा पाएका छन् ।
एमाओवादीले ६१३ सदस्यीय केन्द्रीय परिषद् पनि गठन गरेको छ । परिषदमा १५० जना केन्द्रीय सदस्य, १११ जना पूर्व केन्द्रीय सदस्य, सल्लाहकार समितिका ६५ जना, ७५ जना जिल्ला अध्यक्ष, २४ जना जनवर्गिय संगठन प्रमुख र ३५ जना मोर्चा प्रमुख सदस्य रहेका छन् ।
यसैबीच, प्रवक्ता शर्माले नेता भट्टराईलगायतका असंतुष्ट नेताहरुले जिम्मेवारी लिएर काम गरे पनि स्थायी समिति, केन्द्रीय समिति र पदाधिकारीमा नरहने जानकारी दिए । केन्द्रीय समिति बैठक १८ जेठमा फेरि बस्नेछ ।
