समाचारआइतबार, जेठ १८, २०७१
कांग्रेस एमाले विवाद सहमति तर्फ
सहमतिको प्रणाली अपनाउन दबाब दिंदै प्रतिपक्षी एमाओवादीले संसद अवरुद्ध पारेको थियो ।
यसैबीच सरकारका प्रमुख साझेदार दलहरुबीच केही दिन यता बढेको असहमति भने समाधान भएको कांग्रेसका नेताहरुले बताएका छन्।
नेपाली कांग्रेस र नेकपा एमालेबीच बजेट निर्माण देखि सरकार सञ्चालनका विषयमा विवाद भएको थियो।
१६ जेठमा बसेको एमालेको संसदीय दलको बैठकमा कांग्रेसप्रतिको असन्तुष्टि तिब्ररुपमा पोखिएको थियो ।
बजेट निर्माणका लागि कांग्रेसले छलफल नगरेको, मन्त्रालयबाट गैरबजेटरी रकम निकासा भएको र कांग्रेसले एकलौटीरुपमा सरकार चलाउन खोजेको भन्दै केही एमाले नेताहरुले आक्रोश व्यक्त गरेका थिए।
१७ जेठमा दुई दलका शीर्ष नेताहरुमाझ भएको छलफलबाट समस्या समाधान भएको कांग्रेस महामन्त्री प्रकाशमान सिंहले बताए ।
छलफलमा सहभागी उपप्रधानमन्त्री समेत रहेका सिंहले भने, “अनावश्यक रुपमा उत्पन असमझदारी कम भएको छ। न्यूनतम साझा कार्यक्रमलाई आधार मानेर नीति र कार्यक्रम बनाएर सबै दलका प्रतिनिधि संलग्न गराएर अगाडि बढ्ने भन्ने भएको छ।”
एमाले सचिव विष्णु पौडेलका अनुसार समस्या समाधानका लागि दुई दलबीचको सम्बाद जारी छ ।
उनले भने, “खासगरी सरकारको गति साह्रै धिमा भयो र फराकिलो दृष्टिकोण राखिएन अनि गैर बजेटरी रकमहरुको प्रयोग भयो भन्ने गुनासाहरु पनि आएका छन्। तर हामी यी सबै गुनासाका समाधान सम्वादको माध्यमबाट गर्न चाहन्छौं।”
कांग्रेस–एमाले विवाद समाधानतर्फ गएपछि अब आफूहरु प्रतिपक्षीले बन्द गराएको सदन खुलाउन पट्टि लाग्ने उपप्रधानमन्त्री सिंहले बताएका छन्।
