समाचारआइतबार, जेठ १८, २०७१
दुई महिनासम्म पनि ट्रक मालिक पत्ता लागेन
गत २६ चैतमा अर्घाखॉचीको दोबाटा–६ सिद्धारामा अवैध काठसहित ट्रक फेला परे पनि अहिलेसम्म न त काठ तस्कर भेटिएका छन् न ट्रक मालिक न त तस्करी कस्ले गर्यो भन्ने फेला परेको छ ।
दोवाटा रेञ्जपोष्ट र सशस्त्र प्रहरी भालुवाङ्गले २४२ क्युफिट सालको चिरान काठ बोकेको ना २ ख ८९७० नम्वरको ट्रक पक्राउ गरी जिल्ला वन कार्यालय अर्घाखॉचीलाई बुझाएको थियो । दुई महिनासम्म पनि गाडी मालिक, चालक पत्ता नलाग्नु पछाडि अन्य कारण हुन सक्ने स्थानीय वासिन्दाले आशङ्का गरेका छन् ।
जिल्ला वन कार्यालय अर्घाखॉचीका प्रमुख कृष्णप्रसाद ढकालले ट्रक मालिकबारे पत्ता लगाउन वीरगन्ज यातायात कार्यालयलाई पत्रचार गरे पनि जवाफ आइनसकेको बताए ।
अर्घाखाँचीमा वन विनस तिव्र हुँदै गएपछि स्थानीय वासिन्दा चिन्तित् भएका छन् ।
प्रेमनारायण आचार्य, अर्घाखॉची
