समाचारआइतबार, जेठ १८, २०७१
गृहमन्त्रीमाथि गालीगलौज प्रकरणः साहलाई म्याद थपियो
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआइबी) ले १८ जेठमा साहलाई काठमाडौं जिल्ला अदालतबाट तीन दिन म्याद थप गरी हिरासतमा राखेर अनुसन्धान गरिरहेको व्यूरोका प्रहरी उपरीक्षक (एसपी) सुरेश विक्रम शाहले बताए ।
इलाका प्रशासन कार्यालय लहान (सिरहा) का प्रशासकीय अधिकृत साहलाई विद्युतीय कारोबार ऐन विपरितको कसुर गरेको अभियोगमा सोधपुछ गर्ने काम भइरहेको सीआइबीले जनाएको छ ।
गृहमन्त्री वामदेव गौतमले सडकमा राखिएका डिभाइडर नाघ्दै हिडेको तस्बीर फेसबुकमा राखिएपछि त्यसमा गालीगलौज गरेर आपत्तिजनक टिप्पणी गरेको भन्दै उनलाई प्रहरीले १६ जेठमा बाराबाट पक्राउ गरेको थियो । पक्राउपछि काठमाडौं ल्याइएका उनलाई सीआइबीको हिरासतमा राखिएको हो ।
सीआइबी स्रोतले साहमाथि लगाइएको आरोप पुष्टि हुने यथेष्ट प्रमाण रहेको र अनुसन्धान पूरा गरेर छिटै मुद्दा प्रक्रियामा लैजाने जानकारी दिएको छ ।
