थप समाचारसोमबार, जेठ १९, २०७१
पर्यटन व्यवसायीको आन्दोलन स्थगित
नेपाल पर्यटन बोर्डमा भएको आर्थिक अनियमितता छानबीन गरी दोषीलाई कारबाही गर्नुपर्ने लगायतका माग गर्दै आन्दोलनरत पर्यटन व्यवसायीले आन्दोलन स्थगित गरेका छन् । संयुक्त पर्यटन व्यवसायीले १९ जेठमा पत्रकार सम्मेलन गरेर आन्दोलन स्थगित गरेको जनाएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री भीमप्रसाद आचार्यले वार्तामा आउन आग्रह गरेपछि तत्कालका लागि आन्दोलन स्थगित गरेको उनीहरुको भनाइ छ । संयुक्त पर्यटन व्यवसायीका संयोजक रमेश धमलाले मन्त्री आचार्यले वार्ताबाट समस्याको समाधान खोज्ने आश्वासन दिएकाले आन्दोलन स्थगित गरेको बताए ।
मन्त्री आचार्यले बोर्डमा भएको अनियमितता छानबीन समितिमा निजी क्षेत्रबाट चार जना पर्यटन व्यवसायीको नाम दिनसमेत आग्रह गरेकाले वार्ताबाट समस्या समाधान हुने धमलाले विश्वास व्यक्त गरे । निजी क्षेत्रबाट अनियमितता छानबीन समितिका लागि सिफारिस गरेका चार सदस्यमा टे«किङ एजेन्सी एसोसिएसन अफ नेपाल (टान) का अध्यक्ष तथा संयुक्त पर्यटन व्यवसायीका संयोजक रमेश धमला, टानका पूर्व अध्यक्ष दीपक महत, राष्ट्रिय पर्यटन व्यवसायी सङ्घका अध्यक्ष चन्द रिजाल र पर्यटन व्यवसायी गणेश सिम्खडा छन् ।
पर्यटन व्यवसायमा संलग्न विभिन्न २५ वटा सङ्घसंस्था संलग्न रहेको उक्त संयुक्त पर्यटन व्यवसायीले १७ वैशाखदेखि आन्दोलन गर्दै आएका थिए ।
