समाचारमंगलबार, जेठ २०, २०७१
गृहमन्त्रीप्रति गालिगलौजपूर्ण टिप्पणी गर्ने साह रिहा
इलाका प्रशासन कार्यालय सिरहामा कार्यरत शाखा अधिकृत राजु साहको मुद्दा सरकारी वकिलले दर्ता नै नगरेपछि उनी रिहा भएका छन् । फेसबुकमा गृहमन्त्री वामदेव गौतमले डोरी नाघेर बाटो काट्दै गरेको तस्वीरमा गालिगलौजपूर्ण टिप्पणी गरेका साहलाई केन्द्रीय अनुसन्धान व्यूरोले बाराबाट पक्राउ गरेको थियो ।
म्याद थपका लागि २० जेठमा जिल्ला प्रशासन कार्यालयमा लैजानु अघि नै सरकारी वकिलको कार्यालयले मुद्धा दर्ता नगरेपछि उनी रिहा भएको साहका वकील दिपेन्द्र झाले जानकारी दिए ।
झाका अनुसार साहले आफूले गल्ति गरेको स्वीकार्दै माफी पत्रमा हस्ताक्षर गरेका छन् । साहका बाबु गेनालाल साहले कागज गरि छोरा जिम्मा लिएका छन् ।
इलाका प्रशासन कार्यालय लाहानमा कार्यरत साहका बाबु गेनालाल साह एमालेकै कार्यकर्ता हुन् । केही दिनअघि काठमाडौं आएर गेनलालले छोरालाई माफ गरिदिन समेत गृहमन्त्री गौतमसँग आग्रह गरेका थिए ।

