थप समाचारबिहीबार, जेठ २२, २०७१
व्यापारी लुट्ने सशस्त्रका सईसहित चार पक्राउ
जलेश्वरमा खसी व्यापारीलाई कुटपिट गरी लुटेको आरोपमा सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय महोत्तरीमा कार्यरत सशस्त्र प्रहरी नायब निरीक्षक विद्याभूषण झा, सशस्त्र प्रहरी हवल्दार सञ्जीव कुमार राय, सशस्त्र प्रहरी सहायक हवल्दार नवीन चन्द र सशस्त्र प्रहरी जवान मिथिलेसप्रसाद चौधरीलाई जिल्ला प्रहरी कार्यालय महोत्तरीले पक्राउ गरेको छ ।
पक्राउ परेका चारैजनाले २१ जेठ राति ८ बजे जलेश्वर–६ स्थित परिक्रमा गाछीमा भारतबाट खसी किनेर आइरहेका व्यापारीहरु जलेश्वर–६ बस्ने राजेन्द्र दास, बलराम दास, कृष्ण दास र सुनिल दासलाई कुटपिट गरेको र निजहरुको साथबाट रु ६० हजारसमेत लुटपाट गरेको आरोप लागेको प्रहरी निरीक्षक इकवाल हवाडीले बताए ।
व्यापारीहरुले भारतबाट भन्सार तिरेर १२÷१४ वटा खसी किनेर ल्याइरहेको बेला सशस्त्र प्रहरीका चारैजनाले मिलेर उनीहरुसँग पैसा मागेको र उनीहरुले हामीले भन्सार तिरेर आएकाछाँै भन्दै पैसा नतिरेपछि उनीहरुलाई सशस्त्र प्रहरीले बेस्सरी कुट्नुका साथै रु ६० हजारसमेत लुटपाट गरेको प्रहरी निरीक्षक हवाडीले जानकारी दिए ।
व्यापारीहरुलाई कुटिरहेका सशस्त्र प्रहरी र कुटिएका व्यापारीलाई जलेश्वरको आयुर्वेद अस्पताल चोकमा खटिएका नेपाल प्रहरीका जवानले नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालयमा ल्याएका थिए ।
जिल्लामा ल्याइएका व्यापारीहरुसँग भन्सारको कागजात पाएपछि प्रहरीले व्यापारीलाई तत्कालै छाडेको थियो भने सशस्त्र प्रहरीलाई मेडिकल जाँच गराई आवश्यक विभागीय कारबाहीको माग गर्दै सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय महोत्तरीको जिम्मा लगाइएको प्रहरी निरीक्षक हवाडीले बताए ।
रासस
