समाचारसोमबार, भाद्र २५, २०६९
अन्तराष्ट्रिय समुदायको रोहबरबिना एमाओवादीसँग सहमति हुँदैन: कोइराला
कांग्रेस जिल्ला सम्मेलनको उद्घाटन गर्न म्याग्दी पुगेका कोइरालाले २५ भदौमा प्रेस युनियन म्याग्दीले गरेको पत्रकार भेटघाट कार्यक्रममा शान्ति प्रक्रियादेखिका १२ बुँदेदेखि पाँचबुँदेसम्मका सहमति एमाओवादीले कार्यान्वयन नगरेको बताए । कोइरालाले भने, “मैले पटक पटक प्रचण्डलाई सहमति कार्यान्वयनका लागि आग्रह गरेँ तर प्रचण्डले खाली झुटो आश्वासन मात्रै दिएकाले पूर्वसहमति कार्यान्वयन नगरेसम्म कुनै सहमति हुन सक्दैन ।”
कार्यक्रममा कोइरालाले भने, “अब एमाओवादीसँग अन्तराष्ट्रिय समुदायको रोहबरमा मात्रै सहमति हुन्छ ।” अर्को प्रसङ्गमा उनले पहिला राष्ट्रिय सहमतीय सरकार निर्माण भएपछि मात्रै नयाँ निर्वाचनमा जानुपर्ने बताए । राष्ट्रिय सहमति भएमा नयाँ निर्वाचन र संसद् पुनः स्थापना दुवै विकल्पमा बहस गर्न सकिने कोइरालाको भनाइ थियो ।
पत्रकार सम्मेलनमा कांग्रेस केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले संविधानसभाको पुनः स्थापना सर्वोच्च अदालत र जनताको मत विपरीत हुने भन्दै आवधिक निर्वाचनको विकल्प नभएको धारणा राखे ।रासस
