थप समाचारबिहीबार, जेठ २२, २०७१
निजी वन लगाउँदै व्यवसायी
-बिम्मी शर्मा, वीरगञ्ज
पर्सा–बारा औद्योगिक करिडोरका केही उद्योगी व्यवसायी वातावरण जोगाउन र आम्दानी लिन बिरुवा रोप्ने अभियानमा लागेका छन्। अहिले उनीहरू उद्योगका लागि राखिएको खाली जमीनमा विभिन्न जातका रूख रोपेर यसको सुरुआत गर्दैछन्।

पर्साको पचरुखीमा २० बिघा क्षेत्रफलमा विजय सरावगीले रोपेका ३० हजार युकिलिप्टस, लहरेपीपल तथा अन्य रूखका बिरुवा।
निजी वन सरोकारवाला महासंघमा आबद्ध रहेका उद्यमी हरि गौतम चुरेको विनाशले जोखिममा पारेको दक्षिण क्षेत्रलाई जोगाउन निजी क्षेत्रलाई वनमा आकर्षित गर्नुपर्ने बताउँछन्। वनमा आश्रित रहेको ठूलो संख्यालाई पनि वन क्षेत्र फैलाएर फाइदा लिन लगाउनुपर्ने उनको भनाइ छ। उनी आफैंले पनि परवानीपुरस्थित फार्ममा दुई हजार युकिलिप्टस र लहरे पीपलको बिरुवा रोपेका छन्।
पाँच वर्षमा हुर्केर रूख बनेपछि यी बिरुवाले लगानीको चार दोब्बर फाइदा दिने उनको भनाइ छ। एउटा बिरुवा रोप्न र हुर्काउन रु.४०० लाग्नेमा पाँच वर्षमा हुर्केपछि रु.२ हजारमा बिक्री हुने उनले बताए। भारतको उत्तराञ्चलको रुद्रपुरमा रहेको आईटीसीको फार्मबाट ल्याइएका युकिलिप्टसका ३० हजार बिरुवा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य विजय सरावगीले पर्साको पचरुखी गाविसमा रहेको २० बिघा जमीनमा रोपेका छन्।
बिरुवा रोप्दा रु.१ करोड लगानी गरेका सरावगीको विचारमा धानखेतीभन्दा बिरुवाबाट बढी फाइदा लिन सकिन्छ। पशुधन बीमा जस्तै निजी वनको बीमा गर्न सरकारले सहयोग गरेमा व्यवसायीहरू रूख रोप्न लाग्ने उनको विश्वास छ। उनले धनुषाको ढल्केबरमा पनि सवा बिघा जमीनमा ३ हजार युकिलिप्टसका बिरुवा रोपेका छन्।
केडिया अर्गनाइजेशनका निर्देशक तथा वीरगञ्ज उद्योग वाणिज्य संघका उपाध्यक्ष प्रदीप केडियाले पनि परवानीपुरस्थित सुन्दर स्टील फर्निचर उद्योगको खाली जमीनमा युकिलिप्टसका २०० बिरुवा रोपेका छन्। छिट्टै केडिया आँखा अस्पतालको खाली जमीन र अर्को ७ बिघा जमीनमा पनि यो बिरुवा रोप्ने उनको योजना छ। रूखमा गरिएको लगानीले वातावरण जोगाउने र आर्थिक फाइदा पनि दिने उनी बताउँछन्।
रुद्रपुरका व्यवसायीले रूख रोपेर आम्दानी लिएको देखेर वीरगञ्जका व्यवसायी पनि यसतर्फ आकर्षित भएको गौतम बताउँछन्। अहिलेसम्म युकिलिप्टस, टीक, लहरेपीपल, अर्जुन र उत्तिसका ७० हजार बिरुवा लगाएका यहाँका व्यवसायीको रुद्रपुरबाट थप बिरुवा पनि ल्याउने योजना छ। यस्ता बिरुवा एक बिघामा १ हजार ५०० देखि २ हजारसम्म रोप्न सकिन्छ।
युकिलिप्टसको काठ प्लाइउड बनाउन प्रयोग हुन्छ भने यसको पातबाट निस्किने रस आयुर्वेदिक औषधिका लागि उपयोग हुन्छ।
उद्योग परिसरको ६० प्रतिशत जमीन प्रयोग नभएकाले रूख रोप्न थालिएको आशिष राइस मीलका सञ्चालक गणेशप्रसाद लाठ बताउँछन्। उनले पनि मील परिसरमा २०० बिरुवा रोपेका छन्। वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष अशोककुमार वैद्यले पनि बारामा रहेको शालिमार सिमेन्ट उद्योगमा बिरुवा रोपेका छन्।
निजी वन प्रवर्द्धनका लागि वीरगंजका व्यवसायीले वनमन्त्री महेश आचार्यसँग भेटेको र मन्त्रीले सकारात्मक वचन दिएको गौतम बताउँछन्। तर, वीरगञ्जकै केही व्यवसायी भने बिरुवाबारे जानकारी नलिई रोपिएकाले यो लहड बन्ने र पछि पछुताउने स्थिति आउने आशंका गर्छन्।
साप्ताहिक खबरपत्रिका हिमालबाट
