थप समाचारशुक्रबार, जेठ २३, २०७१
सिमेन्ट उद्योगले सास्ती
-देविका घर्ती मगर
बिजौरी–१ मा रहेको सोनापुर सिमेन्ट उद्योग खुल्न लागेकोमा खुशी भएका स्थानीय बासिन्दा धूलो, धूवाँ र ध्वनि प्रदूषण बढ्न थालेपछि अहिले चिन्तित बनेका छन्। स्थानीय र उद्योगबीच विवाद पनि बढ्न थालेको छ।
सिमेन्ट उद्योगलाई जमीन नदिने पक्षमा रहेका मानपुर गाविस–९ बघौसीका हिमालय अधिकारी अरूले साथ नदिएपछि मात्र जमीन दिन सहमत भएका थिए। गाउँबस्ती भएको ठाउँमा सिमेन्ट उद्योग राख्नुहुन्न भनेर आफूले विरोध गरेको उनी बताउँछन्।
कट्ठाको रु.१५ हजार पनि नपर्ने जमीनलाई उद्योगले रु.५० हजार दिएपछि गाउँले जमीन बेच्न तयार भए। स्थानीय वासु पाण्डेले उद्योगबाट प्रदूषण नहुने तथा भएमा उद्योगमा ताला लगाउन आफैं अघि सर्ने बताउनु स्थानीय जमीन दिन राजी हुनुको अर्काे कारण थियो। तर, त्यो वेला उद्योगसँग सम्बद्ध रहेका पाण्डेले अहिले उद्योग छाडेका छन्। उद्योग खुलेसँगै पानीको स्रोत सुकेर कृषि उत्पादन घट्न थालेपछि धेरै रुपैयाँ लिएर जमीन बेचेकोमा पछुताउ भएको बताउँदै बिजौरी–१ दुधरासका विष्णुप्रसाद खुलाल भन्छन्, “अहिले त उद्योगको धूलोले घरमा समेत बस्न नसक्ने बनाएको छ।” उद्योगको छेउमा घर भएकी सावित्रा नेपाली उद्योगको धूलोले केटाकेटीको स्वास्थ्यलाई बढी असर पारेको बताउँछिन्। उद्योगले वचन दिए अनुसार स्थानीयलाई रोजगारी पनि नदिएको उनको भनाइ छ।
२०६८ को अन्त्यदेखि सञ्चालनमा आएको उद्योगले दैनिक ५५० टन क्लिङ्कर र २५०–३०० टन सिमेन्ट उत्पादन गर्छ। रु.३ अर्बभन्दा बढी लगानी रहेको यो उद्योग ८० बिघामा फैलिएको छ। धूलोले समस्या पारेको स्थानीयको गुनासोबारे उद्योगका नायब महाप्रबन्धक रेमन्त ढकाल धूलो नियन्त्रण गर्ने ब्यागफिल्टर र ईएसपी मेशीन जडान गरिएकोले भनिए जस्तो धूलो नउडेको दावी गर्छन्। सरकारको मापदण्ड अनुसार नै उद्योग सञ्चालन भइरहेको उनको भनाइ छ। उद्योगले फैलाएको प्रदूषण नाप्ने दुई वटा यन्त्र रहेकोमा पाँच वटा ल्याउन लागिएको पनि उनी बताउँछन्।
लक्ष्मीपुर गाविस–६ र ८ मा रहेको घोराही सिमेन्ट इन्डष्ट्रिज प्रालि आसपासका बासिन्दाको गुनासो पनि उस्तै छ। सिमेन्ट उद्योगको पर्खालमै टाँसिएको घरधनी तिलकराम घिमिरे धूलो, धूवाँ र ध्वनि प्रदूषणले घरमा बस्नै समस्या परेको गुनासो गर्छन्। पैसा हुनेले टीपर, ट्रक किनेर उद्योगमा काम पाए पनि पैसा नहुनेहरूले धूलो, धूवाँ मात्र खानुपरेको उनले बताए। त्यहींकी केशरी पुन उद्योग आएपछि रुघाखोकी र ज्वरोको समस्या बढेको बताउँछिन्।
बसाइँ सर्दै
सिमेन्ट उद्योगको प्रदूषण झेल्न नसकेर कैयौंले बसाइँ नै सारेका छन्। सिमेन्ट उद्योग आएपछि सोनापुर आसपासका ६० घर बसाइँ सरेको सोनापुर सिमेन्टबाट प्रभावित वार्ता समितिका अध्यक्ष गोविन्दप्रसाद भण्डारीले बताए। घोराही सिमेन्ट उद्योग क्षेत्रबाट पनि केहीले बसाइँ सारेको स्थानीय बताउँछन्।
उद्योग स्थापना हुनुअघि सरकारले बनाउने वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए रिपोर्ट) ले सोनापुर उद्योगले १८० बिघा जमीन किन्नुपर्ने निष्कर्ष निकाले पनि ८० बिघा मात्र खरीद गरेको छ। प्रदूषण उत्सर्जन गर्ने स्थानबाट ४०० मिटरभित्रको जमीन उद्योगले खरीद गर्नुपर्ने र त्यस क्षेत्रमा बस्ती हुनु नहुने पनि उक्त रिपोर्टमा उल्लेख छ। तर, उद्योगले त्यस्तो जमीन खरीद नगरेकोले ८०/९० वटा घर अझ्ै त्यहाँ रहेको वार्ता समितिका अध्यक्ष भण्डारी बताउँछन्। ४०० मिटर क्षेत्रका इनार सुकेको तथा आँप, लिची लगायतका फलफूलहरू फुल्नै छाडेको पनि उनले बताए।
सम्झौता हुन्छ, कार्यान्वयन हुन्न
सोनापुर उद्योगले ल्याएको समस्याबारे जिल्ला प्रशासन कार्यालयको रोहवरमा १० पटक छलफल भइसकेको छ। ती छलफलपछि पनि भएका सम्झौता उद्योगले कार्यान्वयन नगरेको भण्डारी बताउँछन्।
प्रमुख जिल्ला अधिकारी रविलाल पन्थको रोहवरमा भएको सहमतिमा पनि ४०० मिटरको प्रावधान नै उल्लेख छ। त्यसबाहेक सात दिनभित्र प्रदूषण मापन यन्त्र जडान गर्ने, यन्त्रले देखाएको नतीजाको स्वतन्त्र, सरकारी तवरबाट ६ महीनाभित्र विश्लेषण गर्ने, प्रदूषण मापक यन्त्रले देखाएको प्रदूषण अंक वार्ता समितिको प्रतिनिधिको रोहवरमा हरेक हप्ता सार्वजनिक गर्ने, प्रदूषण न्यूनीकरण गर्न तत्काल वृक्षरोपण र तारबार गर्ने, उद्योग परिसर सफा राख्ने, नजिकको सामुदायिक वनमा उद्योगले फोहोर नगर्ने, उद्योगको तर्फबाट स्याउला, दाउरा र घाँसपात कटान नगर्ने, उद्योगलाई आवश्यक पर्ने उद्योग वरिपरिको जग्गा खरीद गर्दा वार्ता समितिसँग समन्वय गर्ने, नेपाल सरकारले तोकेको मापदण्डभन्दा बढी प्रदूषण पाइएमा तुरुन्तै न्यूनीकरण गर्ने उल्लेख छ। तर, सम्झौतामा उल्लेख भएका कुनै बुँदा कार्यान्वयन भएको छैन।
घोराही सिमेन्ट उद्योगका लागि चुनढुंगा बोक्न तापासम्म दैनिक ओहोरदोहोर गर्ने ७०–८० वटा टीपर अर्को समस्या बनेका छन्। घोराही–४ नवरपुरकी गीता चौधरी गाडीको धूलो र धूवाँले घरायसी कामकाजमा समस्या पारेको बताउँछिन्। त्यहींकी सावित्रा राना मगरका अनुसार गाडीको धूलो धूवाँले पशुपक्षीलाई पनि बिमारी पारेको छ।
असार २०६९ बाट क्लिङ्कर र असार २०७० बाट सिमेन्ट उत्पादन थालेको घोराही सिमेन्टले प्रति दिन एक हजार २०० टन क्लिङ्कर र ७५० टन सिमेन्ट उत्पादन गर्छ। त्रिवेणी गु्रपको लगानी रहेको उद्योगमा रु.६ अर्ब लगानी भएको छ। नेपाली र भारतीय गरी ३८४ जना कामदार रहेको यो उद्योगले पनि खानीबाट ३–४ हजार टन चुनढुंगा ल्याउँछ। सगरमाथा ब्रान्डको सिमेन्ट उत्पादन गर्ने घोराही सिमेन्टका वरिष्ठ जनसम्पर्क अधिकृत अमर सुवेदी स्थानीयलाई असर हुने गरी उद्योगले प्रदूषण नगरेको दाबी गर्छन्। प्रदूषण नियन्त्रण गर्न उद्योगमा ५० वटा अत्याधुनिक ब्यागफिल्टर जडान गरिएको र उद्योग क्षेत्रमा १२ हजारभन्दा बढी बिरुवा लगाएको उनको भनाइ छ। उद्योगका निमित्त काभे्र गाविस–३ तापासम्मको ३० किलोमिटर बाटोमा धूलो नियन्त्रण गर्न ६ वटा ट्याङ्करबाट बाटोमा पानी छर्ने गरिएको सुवेदीले बताए।
साप्ताहिक खबरपत्रिका हिमालबाट


