समाचारसोमबार, भाद्र २५, २०६९
बैतडीमा चितुवाको आक्रमणबाट मृत्यु हुनेको संख्या ९ पुग्यो
बज्यैसँग गोठालो गएको बेला विशालपुर-२ रोकटाका आठ वर्षीय सुरज लुहारको २४ भदौमा चितुवाको आक्रमणबाट मृत्यु भएको हो । स्थानीय कोल्तडा सामुदायिक वनको बयाली सिर्के भन्ने ठाउँमा बज्यैसँग बसिरहेको बेला दुईवटा चितुवाले आक्रमण गरेलगत्तै उनको ज्यान गएको स्थानीय परमलसिंह विष्टले बताए । गजीराम लुहारका एक्ला छोरा सुरज कोल्तडा प्रावि दुई कक्षामा अध्ययनरत थिए ।
गएको १३ साउनमा मात्रै चितुवाको आक्रमणबाट विशालपुर-७ बस्ने शङ्कर भट्टका पाँच वर्षीय छोरा नवीन भट्टको ज्यान गएको थियो । उनलाई घर आँगनमा खेल्दै गरेका बेला चितुवाले आक्रमण गरेको थियो ।
त्यस्तै साउन १० गते विशालपुर-२ का साढे चार वर्षीय बालक दीपक चन्दको पनि चितुवाको आक्रमणबाट ज्यान गएको थियो । तीन वर्षता बैतडीको विशालपुर, कुलाउ, उदयदेव र पञ्चेश्वरमा चितुवाले १२ जनालाई मारिसकेको स्थानीय बासिन्दाले बताएका छन् ।
शृङ्खलावद्धरुपमा चितुवाले बालबालिका र महिलामाथि आक्रमण गर्न थालेपछि साँझपख एक्लै बाहिर निस्कन गाह्रो परेको पञ्चेश्वर-६ का गोरख साउदले बताए । महाकाली नदी किनारको बाक्लो झाडीमा बस्ने चितुवाका कारण बालबालिकालाई विद्यालय पठाउन छोडेको स्थानीय शिक्षक टीकाराम भट्टले बताए । रासस
