समाचारशनिबार, जेठ २४, २०७१
‘संघीयताको मुद्दा जनमतसंग्रहबाट भए पनि टुंग्याउनुपर्छ’
प्रेस युनियन दाङले २४ जेठमा गरेको पत्रकार सम्मेलनमा शहरी विकास मन्त्री नारायण खड्काले संविधानसभाबाट संघीयतामा सहमति हुन नसके जनमतसङ्ग्रहमा लगेर भए पनि टुङ्गो लगाउनु पर्ने जिकिर गरेका छन् ।
मन्त्री खड्काले अघिल्लो संविधानसभा सङ्घीयताका कारण असफल भएको बताउँदै भने, “सहमति र बहुमतले टुङ्ग्याउन नसके अन्तिम र सर्वमान्य विकल्प जनमतसङ्ग्रह नै हो । सङ्घीयताका बारेमा दलहरुको फरकफरक विचार आएका छन्, व्यापक छलफल गरेर समाधान खोजिने छ ।”
उनले विपक्षी दलहरुले रकमान्तरको विषयलाई उठाएर संसद अवरुद्ध गर्नुको कुनै तुक नभएको भन्दै यो सामान्य विषय भएको दाबी गरे । उनले सरकार नेपाली कांग्रेसले मनोमानी रुपमा चलाईरहेको भन्ने आरोपको पनि खण्डन गरे ।
संयुक्त सरकार भएकाले संबिधानसभामा मनोनयन गर्ने २६ जना सभासद, राजदूत सहित अन्य निकायमा नियुक्ति गर्न केही ढिला भएको भन्दै खड्काले यी सबै विषयमा दलहरु बीच छलफल चलिरहेकाले छिटै सबै काम टुंगिने बताएका थिए ।
देविका घर्ती मगर, घोराही
