समाचारशनिबार, जेठ २४, २०७१
‘नेतृत्व हस्तान्तरण नयाँलाई गरौं, पुराना सबै आराम गरौं’
नेकपा एमाले सुनसरीले २४ जेठमा आयोजना गरेको कार्यकर्ता भेलालाई संबोधन गर्दै एमाले वरिष्ठ नेता नेपालले भने, “सबैलाई मान्य हुन्छ भने नयाँ पुस्तालाई पार्टीको नेतृत्व दिऊँ, हामी पुराना नेताहरुलाई आराम गर्न पठाए हुन्छ ।”
केपी ओली पक्षले उठाएको नेतृत्व हस्तान्तरणको नारा प्रति ब्यङग्य गर्दै नेता नेपालले भने, “उपाध्यक्ष, महासचिव, सचिब र बर्गीय संगठनको नेतृत्व पुरानै राख्ने अनी अध्यक्ष मात्रै परिवर्तन गरौं भन्ने ?”
मदन भण्डारीको नाम भजाउने काम नगर्न र नातागोता देखाएर उत्तराधिकारीको ब्याज नखान चेतावनी दिंदै उनले यस्तो कुरा गर्नेहरुले एमालेलाई टपर्टुइँया र गुण्डाहरुको पार्टी बनाउन खोजेको आरोप लगाए ।
उनले जनताको बहुदलीय जनवादलाई केही नेताहरुले परिवर्तन हुनै नसक्ने धर्मशास्त्र जस्तो बनाएको भन्दै जवजलाई अहिलेको बदलिदो समाजको आकांक्षालाई सम्बोधन गर्न सक्ने सिद्धान्त बनाउने आफ्नो प्रयास रहेको बताए ।
नेपालले भने, “त्यो बेलाको समाजको भावनालाई संबोधन गर्न सक्ने सिद्धान्त मदन भण्डारीले ल्याउनु भएको हो । तर, अहिले समाज परिवर्तन भईसक्यो । परिवर्तनलाई संबोधन गर्न सक्ने गरि यसमा परिमार्जन हुनुपर्छ । जबजमा २२ बर्षको अनुभव समेट्नु पर्छ । धर्म निरपेक्षता, संघीयता, समावेशीकरण जस्ता पक्ष पनि समेट्नु पर्छ ।”
नेपालले आगामि महाधिवेशन राजनीति भन्दा पनि जनताको जीवन र आर्थिक विकासका लागि केन्द्रीत हुनु पर्नेमा जोड दिदै एमालेलाई सबै बामदलहरुको एउटै केन्द्रको रुपमा स्थापित गर्ने गरि अघि बढाउनु पर्ने बताएका थिए ।
