समाचारआइतबार, जेठ २५, २०७१
पेस्तोलसहित पाँच भारतीय पक्राउ
सशस्त्र प्रहरी बल राजस्व एवम् भन्सार गुल्म विराटनगरले हतियारसहित नेपाल प्रवेश गरेका भारत विहारका रञ्जित चौधरी, सञ्जय राय, शान्तिपुर महतो, ३६ वर्षीय विवेक सिंह र आशिष गुप्तालाई पक्राउ गरेको छ ।
रानी सीमा नाकाको दुई नम्बर ढाटमा २४ जेठ साँझ सशस्त्र प्रहरीका हवल्दार राजेश्वर थापा नेतृत्वको टोलीले चेकजाँचका क्रममा पक्राउ गरेको हो ।
निजी माइक्रो भ्यानमा नेपाल प्रवेश गर्दै गरेका उनीहरुमध्येका सञ्जयको साथमा पेस्तोल फेला परेपछि उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
सञ्जयको साथबाट इटालीमा बनेको सात प्वाइन्ट ६५ एमएमको पेस्तोल एक थान र त्यसमा लाग्ने गोली १० थान बरामद भएको छ ।
प्रहरीले उनीहरुको साथबाट भारतीय रुपैयाँ ५०० को एक लाख र एक हजारको नोट ११ हजारसमेत बरामद गरेको छ ।
उनीहरुसँगै बिआर ११ टी २४६५ नम्बरको माइक्रो भ्यानसमेत प्रहरीले नियन्त्रणमा लिएको छ ।
पक्राउ गरिएका भारतीयहरुले आफूहरु महिन्द्रा डिस्ट्रीब्युटर्स प्रालि विहार पूर्णियाको सञ्चालक रहेको र नेपाल घुम्न आएको बयान दिएका छन् ।
पक्राउ परेकाहरुलाई आवश्यक अनुसन्धानका लागि नेपाल प्रहरीमा बुझाइएको छ ।
रासस
