थप समाचारआइतबार, जेठ २५, २०७१
क्यानाडामा तीन कैदी हेलिकप्टरबाट फरार
क्यानाडाली प्रहरीका अनुसार स्थानीय समय अनुसार शनिबार साँझ ७:४५ बजे क्युबेक प्रान्तको ओरसेनविले हिरासत केन्द्रबाट तीनजना कैदी हेलिकप्टर चढेर फरार भएका छन् ।
प्रहरीले उनीहरुको खोजी भइरहेको जनाएको छ । क्युबेकका प्रहरी प्रवक्ताले हरियो र रातो रंगको हेलिकप्टर हिरासत केन्द्रमा ओर्लिएर पश्चिमतर्फ लागेको र सम्भवतः मन्ट्रियलमा ओर्लिएको हुनुपर्ने बताएका छन् । यद्दपी अधिकारीहरुले यसबारे थप विवरण दिन नमानेको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन् ।
प्रहरीले हेलिकप्टर बारे सूचना दिन सार्वजनिक आह्वान गरेको छ भने फरार कैदीहरुको तस्वीर सार्वजनिक गरेको छ । सबै एयरपोर्ट र सैनिकलाई समेत हेलिकप्टर बारेको सूचना पत्ता लगाउन र तुरुन्तै खबर गर्न प्रहरीले आग्रह गरेको छ ।
एक वर्षअघि पनि मन्ट्रियल नजिकको जेलमाथि उडिरहेको हेलिकप्टरमा झुण्डिएको डोरी समातेर दुई कैदी भाग्न सफल भएका थिए । तर केही घण्टामै उनीहरुलाई भगाउन मद्दत गर्ने अन्य दुई जनासमेत ती कैदी पक्राउ परेका थिए ।
