थप समाचारआइतबार, जेठ २५, २०७१
मिर्गौला पीडितद्वारा निःशुल्क उपचारको माग
राष्ट्रिय मिर्गौला पीडित संघ नेपालले मिर्गौला प्रत्यारोपण एवम् औषधि सेवन लगायतको उपचारमा महंगो रकम खर्चिनुपर्ने भन्दै निःशुल्क उपचारको माग गरेको छ । मिर्गौला पीडितले निःशुल्क उपचार लगायतका सातबुँदे माग राखेका छन् ।
आफ्ना माग पूरा हुनुपर्ने भन्दै उनीहरुले २५ जेठ बिहान केहीबेर राजधानीस्थित रत्नपार्कमा धर्ना दिएका थिए । सङ्घका अध्यक्ष चिन्तामणि पोखरेलले प्रत्यारोपण सम्भव भएका बिरामीलाई तुरुन्त र निःशुल्क प्रत्यारोपण गरिनुपर्ने, औषधि सेवन तथा विभिन्न प्रयोगशालामा परीक्षण निःशुल्क गर्नुपर्ने र मिर्गौला रोगीलाई अपाङ्गतामा सूचीकृत गरी गाँस, बास र कपाससहित रोजगारीको सुनिश्चित गर्नुपर्ने बताए ।
नेपालमा मिर्गौला रोगको यकिन तथ्याङ्क नभए पनि कुल जनसङ्ख्याको नौ प्रतिशत मानिसमा सो रोग भएको र तीमध्ये १० प्रतिशत मानिसको दुवै मिर्गौला पूर्णरुपले खराब हुने गरेको सङ्घको भनाइ छ । रोगका बारेमा समयमै सचेत गराउने र उपचार पाएका खण्डमा करिब ९० प्रतिशत बिरामीको मिर्गौला जोगाउन सकिने जनाइएको छ ।
रासस
