समाचारआइतबार, जेठ २५, २०७१
बाजुरामा पहिरोले तीनजनाको मृत्यु, पानी र औषधीको हाहाकार
२४ जेठ राति ११ बजे पानी परेपछि आएको पहिरोबाट कोल्टी– २ स्थित करे बुढाको घर पुरिंदा ४५ वर्षीय करे बुढा, उनका नाति ५ बर्षीय दिनेश बुढा र घरमा पाहुना आएका कोल्टी–८ का ५८ वर्षीय गोरे रोकायाको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय बाजुराले जनाएको छ ।
त्यसैगरी घरमै रहेकी १९ वर्षीया विमला रोकाया गम्भीर घाइते भएकी छन् । विमला लाई राति नै उद्धार गरिए पनि मृतक तीन जनाको शव भने बिहान मात्र नेपाली सेनाले डोजर लगाएर निकालेको थियो ।
पहिरोले स्थानीय काशिचन्द बोहोरा, गंगालाल बोहोरा, बिष्णु सार्की, करवीर बुढा, मनिषचन्द्र बुढा र भाने बुढाको घर पनि बगाएको छ भने दर्जनौ घर र पसलहरु जोखिममा छन् ।
पहिरोले खानेपानीको पाइप लाइन बगाँउदा पानीको समेत हाहाकार भएको छ ।
त्यसैगरी पहिरोले कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा रहेको प्रसुति केन्द्रको भवन बगाएको छ भने केन्द्रमा रहेका सबै औषधि र सामान बगाएको केन्द्रकी अनमी देउमा धामीले बताइन् । यस क्षेत्रका ११ गाविसका स्वास्थ्य चौकिका लागि केन्द्रमा राखिएका औषधि समेत नष्ट भएको छ ।
दुई वर्ष पहिले पनि कोल्टीमा आएको पहिरोले पाँच जनाको ज्यान गएको थियो भने प्राथमिक स्वास्थ्य केन्द्र र घरहरु बगाएको थियो ।
पहिरो प्रभाबित क्षेत्रमा प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, रेडक्रस औषधि सहितको चिकित्सको टोली सदरमुकामबाठट गएको प्रहरी निरीक्षक हिक्मत बोहाराले जानकारी दिए ।
घटना स्थल सदरमुकाम बाट एक दिनको दुरीमा छ ।
वर्षाको शुरुवात सँगै जिल्लाका सयांै घरहरु पहिरोको उच्च जोखिममा रहेका छन् ।
जिल्लाका बाह्रबिस, बाधु, कोल्टी, जगन्ननाथ, गुदुखाति कुल्देबमाडौं, कैलाशमाडौं, ब्रम्हमतोला, आटिचौर लगायतका २० गाबिसका अधिंकाश गाँउहरु पहिरोको उच्च जोखिममा परेको जिल्ला प्रशासन कार्यलय बाजुराले जनाएको छ ।
शनिवार मात्र मौसम बिभाग, काठमाडौंले केही दिन सुदुरपश्चिममा पानी नपर्ने जनाएको थियो । तर त्यसै दिन कोल्टीमा ठूलो पानी परेर क्षति भएको छ ।
प्रकाश सिंह, बाजुरा
