थप समाचारआइतबार, जेठ २५, २०७१
फोहोरबाट मनग्गे कमाइ
-सन्त गाहा मगर
काठमाडौंको वीर अस्पतालले दैनिक निस्कने ७५० किलोग्राम फोहोरलाई आम्दानीको राम्रो स्रोत बनाएको छ। अस्पतालका निर्देशक डा. बुलन्द थापाका अनुसार, फोहोरबाट हरेक महीना ५० हजार नगदका साथै ६ सिलिन्डर ग्याँस उत्पादन भइरहेको छ। अस्पतालले फोहोरलाई कुहिने र नकुहिने छुट्याएर बिक्री गर्दा आम्दानी त भएको छ नै त्यो भन्दा ठूलो कुरा, जहिल्यै टाउकोदुखाइको विषय बन्ने वस्तुको राम्रो व्यवस्थापन भएको छ।
वीरले यो उपाय अपनाएपछि चार वर्षयता नेपाल एयरलाइन्स कर्पोरेसन (एनएसी) अगाडि र खुलामञ्चको किनारमा अस्पतालजन्य फोहोर थुप्रिन छाडेको छ। यो क्षेत्रले अन्य फोहोरको तुलनामा बढी हानिकारक अस्पतालजन्य फोहोरबाट मुक्ति पाएका छन्। अस्पतालले आफ्नो फोहोरबाट कागज, धातु, रबर, कपडा आदि छुट्याएर निर्मलीकरण गरी बिक्री गर्ने गरेको निर्देशक डा. थापा बताउँछन्। जथाभावी फोहोर फाल्ने अन्य अस्पताल, होटल, रेस्टुराँ, तरकारी बजार, मासु पसल आदिले पनि वीर अस्पतालको सिको गरेको खण्डमा काठमाडौंमा फोहोर व्यवस्थापनको समस्या धेरै हदसम्म समाधान हुने देखिन्छ। काठमाडौं महानगरपालिका राजस्व महाशाखा प्रमुख महेश काफ्ले फोहोर धेरै निकाल्ने नाफामूलक व्यवसायीहरूले कर समेत नतिरेर सार्वजनिक स्थलमा फोहोर गर्नु सरासर अनैतिक भएको बताउँछन्।
फोहोरको पुनः प्रयोग हुनसक्दा यसको व्यवस्थापनमा भइरहेको रु.६० करोड जोगिने देखिन्छ। जैविक फोहोरबाट त विद्युत् र ग्याँस निकाल्न पनि सकिन्छ। काठमाडौं विश्वविद्यालयका विद्यार्थी यही जेठको दोस्रो साता फोहोरबाट शोभा भगवतीमा ६०० वाट विद्युत् निकाल्ने परीक्षणमा सफल भएका थिए। काठमाडौं महानगरपालिका र ललितपुर उपमहानगरपालिकाको दैनिक १००० टन फोहोरबाट १६ मेगावाट बिजुली उत्पादन गर्न सकिने प्रारम्भिक अध्ययनले देखाएको छ। भारतको राजधानी नयाँदिल्लीमा १३०० टन फोहोरबाट २५ मेगावाट बिजुली निकालिएको छ।
शहरी विकास मन्त्रालय अन्तर्गतको फोहोर मैला व्यवस्थापन प्राविधिक सहयोग केन्द्रका कार्यकारी निर्देशक डा. सुमित्रा अमात्य फोहोरका ९३ प्रतिशत वस्तु पुनः प्रयोगमा ल्याउन सकिने बताउँछिन्। उनका अनुसार, त्यस्ता फोहोरमा दुईतिहाइ वस्तु जैविक अर्थात् कुहिने हुन्छन्, जसबाट गुणस्तरीय मल बनाउन सकिन्छ। (हे. इन्फोग्राफिक्स) फोहोरमा रहेका प्लास्टिक, कागज, कपडा, धातु, सिसा, रबर र छालाको पनि पुनः प्रयोग गर्न सकिन्छ।
घरमै समाधान
काठमाडौं महानगरपालिका वातावरण व्यवस्था विभागका प्रमुख रवीन्द्रमान श्रेष्ठ फोहोर व्यवस्थापनको सबभन्दा बढी खर्च संकलन र ल्यान्डफिल्ड साइटसम्मको ढुवानीमा लाग्ने बताउँछन्। त्यसकारण यो समस्याको सबभन्दा राम्रो समाधान स्रोतबाटै व्यवस्थापन हो। यसका लागि महानगरपालिकाले घर–घरमै जैविक फोहोरको मल बनाउने तालिम र ५० प्रतिशत सहुलियतमा विन उपलब्ध गराएको छ। यसबाट खर्चको साटो आम्दानी हुने विभागका प्रमुख श्रेष्ठ बताउँछन्। “घरमा बनाइएको जैविक मलबाट उत्पादित तरकारीले हरेक भान्सामा चाहिने तरकारीको खाँचो टर्छ।”
वातावरणकर्मी भूषण तुलाधर त बाहिरको ल्यान्डफिल्ड साइटमा लगेर काठमाडौंको फोहोर थुपार्नुलाई व्यवस्थापन नै मान्दैनन्। फोहोरबाट जैविक र अजैविक वस्तु छुट्याएर पुनः प्रयोग र प्रशोधन गर्दा व्यवस्थापन मात्रै नभई आम्दानीको माध्यम समेत बन्ने उनी बताउँछन्। “डम्पिङ साइटमा लैजानु भनेको समाधान होइन, एक ठाउँको फोहोर अर्को ठाउँमा सार्नु मात्रै हो”, काठमाडौंको फोहोर व्यवस्थापन यहींभित्र हुनुपर्ने बताउँदै तुलाधर भन्छन्, “फोहोर फाल्ने होइन, पाल्ने चिज हो भन्ने चेतना घरघरमा जगाउन सक्दा यो व्यवस्थापनको समस्याभन्दा आम्दानीको अवसर बन्छ।”
भान्साबाट निस्कने फोहोर मात्रै होइन, मानव मलमूत्रको समेत सदुपयोग गर्ने कामको राम्रो थालनी भएको छ। चितवनको दारेचोकमा ‘पिसाब फेर्नुस्, एक रुपैयाँ लैजानुस्’ भन्ने होर्डिङबोर्ड राखेर इकोसान शौचालय शुरू भएपछि त्यस क्षेत्रमा सरसफाइ हुनुका साथै रासायनिक मल र कीटनाशक औषधिको प्रयोगमा समेत कमी ल्याएको छ। मानव मलमूत्रलाई हुनुपर्ने जस्तै उपयोगी बनाउनेमा ललितपुर सुनाकोठीका मदन राई पनि पर्छन्। “गुहु–मूत भनेर नाक खुम्च्याउनु अज्ञानता हो”, राष्ट्रसंघीय खाद्य तथा कृषि संगठनमा वरिष्ठ कृषि विज्ञको रूपमा सेवा गरिसकेका राई भन्छन्, “मानव मल–मूत्र त बोटबिरुवाका लागि औषधि नै हो।”
———————————————————————————————————————————————
‘फोहोर समस्या नै होइन’
हामीकहाँ निस्कने अधिकांश फोहोर कुहिने खालका छन्। काठमाडौंको सन्दर्भमा प्लाष्टिकभन्दा कुहिने फोहोर समस्या हो भने प्लाष्टिक उपत्यका बाहिरको। साँच्चै उपयोगको सोच हुने हो भने विद्यमान स्रोतसाधन र ऐन–कानूनबाट फोहोर व्यवस्थापनका धेरै काम गर्न सकिन्छ।
फोहोर व्यवस्थापनमा ठूला व्यापारिक घराना र प्रत्येक घरपरिवारको योगदान हुनुपर्छ। व्यापारिक घरानाले सामाजिक उत्तरदायित्व अन्तर्गत आफूले सिर्जिएका फोहोर व्यवस्थापन गर्नुपर्छ। जस्तो, चाउचाउ कम्पनीले खोल फिर्ता ल्याउने स्किम ल्याउनुपर्छ। महिला र विद्यार्थी लक्षित फोहोर व्यवस्थापन तालिमहरू संचालन गर्नुपर्छ। प्रत्येक टोलवासीले १० प्रतिशत फोहोर व्यवस्थापन गर्ने हो भने १० दिनमै हाम्रो शहर सफा र सुन्दर हुन्छ।
साप्ताहिक खबरपत्रिका हिमालबाट



