समाचारआइतबार, जेठ २५, २०७१
क्यान अध्यक्षसहित १८ जनाविरुद्ध मुद्दा दायर
नेपाल क्रिकेट संघका पदाधिकारीको मिलेमतोमा मुलपानीस्थित क्रिकेट मैदान र भवन निर्माणका लागि सरकार तथा बिदेशी संघ संस्थाबाट प्राप्त अनुदान रकम, खेलकुद सामाग्री खरिदमा अनियमितता गरेको तथा असम्बन्धित व्यक्तिहरुलाई संघको खर्चमा बिदेश पठाउने समेतका कार्य गरी भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले क्यान अध्यक्ष टंक आङ्गवुहाङ्ग लिम्बु, उपाध्यक्षहरू चतुर बहादुर चन्द, सुनिलमान अमात्य र बिनोद कुमार मैनाली, महासचिव अशोकनाथ प्याकुरेल, कोषाध्यक्ष राजुबाबु श्रेष्ठ, सदस्यहरू किरण शमसेर राणा, ठाकुर प्रताप थापा, ठाकुर प्रसाद पहाडी र पुर्ण बहादुर लामाविरुद्द विशेष अदालतमा आरोपपत्र दायर गरेको छ ।
त्यसैगरी राष्ट्रिय खेलकुद परिषदका ईन्जिनियर अरुण उपाध्याय, गौरा कन्सट्रक्सन प्रा.लि.का सञ्चालक सुर्य अधिकारी, आर कोमल कन्सट्रक्सनका सञ्चालक रामशरण देउजा, नव निर्माण कम्पनीका सञ्चालक कृष्णप्रसाद पाण्डे, क्राउन नेपाल कन्सट्रक्सन एण्ड डेभलपमेन्ट प्रा.लि.का सञ्चालक पवन पाठक, खड्का कन्सट्रक्सन प्रा.लि.का सञ्चालक राजकुमार खड्काविरुद्ध पनि अख्तियारले अदालतमा मुद्दा दायर गरेको छ ।
डिजाईन शेल आर्किटेक्ट्स प्रा।लि।का निर्देशक उमेशमान श्रेष्ठ र सिफन ईन्जिनियरीङ कन्सल्टेन्सीका ईन्जिनियर छबिलाल अधिकारी समेतमाथि पनि विशेष अदालतमा मुद्दा चलाइएको अख्तियारले जनाएको छ ।
१८ जनासँग जम्मा बिगो रू १ करोड ४३ लाख १४ हजार ५०० कायम गरी उक्त रकम नेपाल क्रिकेट संघलाई दिलाई भराई पाउन अख्तियारले माग गरेको छ।
