समाचारसोमबार, जेठ २६, २०७१
संविधान लेखनमा विदेशमा रहेका नेपालीको पनि राय लिइने
संविधानसभा, नागरिक सम्बन्ध तथा संविधान सुझाव समितिले विदेशमा रहेका नेपाली नागरिकको पनि राय लिने व्यवस्था गर्न लागेको हो । समितिले इमेल, फोन, पत्राचार लगायतको माध्यमबाट सुझाव लिने व्यवस्था गर्न लागेको छ ।
समितिअन्तर्गतको आन्तरिक कार्यविधि र कार्ययोजना मस्यौदा उपसमितिको २६ जेठमा बसेको बैठकले संविधान मस्यौदामा विदेशमा रहेका नेपाली नागरिकको राय सुझाव सङ्कलन गर्न विदेशस्थित नेपाली कूटनीतिक नियोग तथा श्रम सहचारीसँग समन्वय गर्ने निर्णय पनि गरेको छ ।
कसरी नेपाली कूटनीतिक नियोग (राजदूतावास) तथा श्रम सहचारीसँग समन्वय गर्ने विषयमा उपसमितिको बैठकमा परराष्ट्र र श्रम तथा रोजगार मन्त्रालयका प्रतिनिधिले आवश्यक रायसुझाव दिएका थिए । बैठकमा श्रम मन्त्रालयका सहसचिव सूर्यप्रसाद श्रेष्ठ र उपसचिव बुद्धिनाथ भट्टराईले विदेशमा रहेका नेपालीले नयाँ संविधानका बारेमा दिने रायसुझाव सङ्कलन गर्न मन्त्रालयले समन्वय गर्ने जानकारी दिए ।
परराष्ट्र मन्त्रालयका उपसचिव विष्णुप्रसाद गौतमले संविधानको मस्यौदामा विदेशमा रहेका नेपाली नागरिकको रायसुझाव सङ्कलन गर्न मन्त्रालय तत्पर रहेको बताए । अघिल्लो संविधानसभाले पनि विभिन्न कामका सिलसिलामा विदेशमा रहेका नेपालीलाई संविधानका बारेमा आआफ्ना रायसुझाव दिन सक्ने व्यवस्था मिलाएको थियो ।
रासस
