थप समाचारसोमबार, जेठ २६, २०७१
एआईजी बढुवा रोक्न आदेश
पुनरावेदन अदालत पाटनले २६ जेठमा प्रहरीको एआईजी बढुवा तत्काल लागू नगर्न अन्तरिम आदेश दिएको हो । डीआईजी पर्शुराम खत्रीले दायर गरेको रिटमा अदालतले मुद्दाको किनारा नलागेसम्म बढुवा कार्यान्वयन नगर्न भनेको छ ।
डीआईजी खत्रीले एआईजी बढुवा रोक्न भन्दै २५ जेठमा पुनरावेदन अदालतमा रिट दायर गरेका थिए । कानुनमा कतिपय पूर्वाग्रहपूर्ण प्रावधान राखेर आफूलाई बढुवाबाट बञ्चित गर्न खोजिएको उनले रिटमा जिकिर गरेका थिए ।
खत्रीले दायर गरेको रिटमा न्यायाधीश रामेश्वरनाथ अमात्यको इजलासले सुनुवाइ गर्दै अन्तरिम आदेश दिएको हो ।
गृह मन्त्रालयले १३ जेठमा रिक्त एआईजीका लागि राजेन्द्रसिंह भण्डारी, सुरेन्द्रबहादुर शाह, विज्ञानराज शर्मा, प्रतापसिंह थापा, वीरेन्द्रबाबु श्रेष्ठ, रमेशशेखर बज्राचार्य र केदार साउदको नाम सिफारिश गरेको थियो ।
