समाचारमंगलबार, जेठ २७, २०७१
प्रमका चिकित्सकको आग्रह: गोपनीयतामा संवेदनशिल भइदिनुस
प्रधानमन्त्रीका निजी चिकित्सकले जारी गरेको प्रेस विज्ञप्तीको पूर्ण पाठ:
२०७१ जेठ २७ गते
प्रेस विज्ञप्ति
सम्माननीय प्रधानमन्त्रीज्यूको नियमित रुपमा स्वास्थ्य परीक्षण हुँदै आएको छ । यस अतिरिक्त विदेश प्रस्थान गर्नु अगाडि र स्वदेश फिर्ता भएपछि पनि सम्माननीय प्रधानमन्त्रीज्यूको स्वास्थ्य परीक्षण हुने गरेको छ। यसै क्रममा मित्र राष्ट्र चीनको भ्रमणमा जानु अगाडि र स्वदेश फर्केपछि जेठ २४ गते शनिवार म लगायत चिकित्सकहरुको विज्ञ समूहले सम्माननीय प्रधानमन्त्रीज्यूको स्वास्थ्य परीक्षण गरिएको व्यहोरा जानकारी गराउछु।
प्रधानमन्त्रीज्यूले पहिलेदेखि नै ब्रोङ्काइटिसको औषधीहरु नियमित सेवन गरिरहनु भएको छ। प्रधानमन्त्रीज्यूमा तीन हप्तादेखि सुख्खा खोकी र कहिले काही ज्वरो आउने लक्षण देखिएको छ। सिटी स्क्यान गर्दा फोक्सोमा सानो दाग देखिएकोले उहाँको थप परीक्षण हुँदै गरेको छ। थप निदानको लागि २४ गते स्वास्थ्य परीक्षणमा संलग्न विज्ञ समूहले अनुकूल समयमा सुविधा सम्पन्न अस्पतालमा स्वास्थ्य जाँच गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
विगतमा जिब्रोको क्यान्सरको अमेरिकामा सल्यक्रिया गराएपछि सोही अस्पतालमा बर्षको एकपटक नियमित अनुगमन परीक्षण गराउदै आउनु भएका सम्माननीय प्रधानमन्त्रीज्यूले असार महिनाको दोस्रो हप्ताभित्र नियमित परीक्षण गराउन उपयुक्त हुने सुझाव हामीले दिएका छौं । गत बर्ष असार १३ मा नियमित परीक्षण गराएपछि कार्य व्यस्तताका कारण उहाँले बीचमा अनुगमन परीक्षण लाई निरन्तरता दिन सक्नु भएको छैन।
स्वास्थ्य जस्तो संवेदनशील विषयमा समाचार दिंदा सम्बन्धित व्यक्तिको गोपनीयताको हक र निजको चिकित्सकको व्यवसायिक धर्मलाई समेत ध्यानमा राखी समाचार प्रकाशित गर्न म सञ्चारकर्मी मित्रहरुलाई हार्दिक अनुरोध गर्दछु। देशको कार्यकारिणी प्रमुख प्रधानमन्त्रीज्यूको स्वास्थ्यबारे चासो राख्नु हुने सम्पूर्ण शुभचिन्तकहरुप्रति कृतज्ञता प्रकट गर्दै उहाँको स्वास्थ्यका सम्बन्धमा यथार्थ जानकारी यथा समयमा दिने प्रतिवद्धता व्यक्त गर्दछु।
धन्यवाद ।
प्रा.डा.करबीरनाथ योगी
(एम.डी,एफ.सी.सी.पी)
सम्माननीय प्रधानमन्त्रीज्यूको
निजी चिकित्सक
प्रधानमन्त्रीलाई फेरि क्यान्सर आशंका
