थप समाचारबुधबार, जेठ २८, २०७१

स्काइपबाटै क्यान्सरको उपचार

हिमालखबर

सुरजकुमार भुजेल, मकवानपुर

क्यान्सरपीडित मकवानपुर थाहा नगरपालिका–८ का शंकर लामा मकवानपुरमै बसेर राजधानीमा रहेका विशेषज्ञ चिकित्सकसँग स्वास्थ्य सेवा लिने गर्छन् । स्वास्थ्यमा समस्या आउनावित्तिकै उनी प्राथमिक स्वास्थ्य केन्द्र पालुङ पुग्छन् र त्यहाँबाट स्काइपमार्फत उनलाई राजधानीका चिकित्सकले परामर्श दिन्छन् ।

थाहा नगरपारलिकामा रहेको स्वास्थ्य केन्द्रका लागि पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका डिन डा. राजेश गंगोल, शिक्षण अस्पतालका प्रोफेसर डा. प्रदीप वैद्यलगायतले स्काइपबाटै बिरामीलाई निशुल्क परामर्श दिने गरेका छन् । विरामीलाई राजधानीका चिकित्सकसँग परमार्श सहज गराउन केन्द्रका सिनियर अहेव चिनिया लामा खटिएका छन् ।

थाहा नगरपालिकाकी ४० वर्षीया कान्छीमाया लो आफूलाई स्तन क्यान्सरको शंका लागेपछि शिक्षण अस्पताल महाराजगञ्जका प्रोफेसर डाक्टर प्रदिप वैद्येसँग परामर्श लिँदै । तस्वीरहरुः सुरजकुमार भुजेल

“बिरामीले डाक्टरसँग कुरा गरेपछि बिरामीलाई दिनुपर्ने औषधि र अपनाउनुपर्ने सावधानीको विषयमा हामीलाई डाक्टरले बताउँछन्, हामी त्यही अनुसार गर्छौ,” केन्द्रकी चिकित्सक प्रगती झा भन्छिन्, “यो असाध्यै सस्तो, भरपर्दो र सफल प्रविधिको रुपमा स्थापित भइरहेको छ ।”

स्वास्थ्य केन्द्रले टेलिमेडिसिन सेवा शुरु गरेको दुई महीनाको अवधिमा थाहा नगरपालिका, टिष्टुङ र फाखेल गाविसका २० जना क्यान्सरपीडितले यो यसरी स्वास्थ्य सेवा लिइरहेका छन् ।

टेलिमेडिसिन सेवा सुचारु गर्नु पूर्व स्वास्थ्य केन्द्रले आफ्नो सेवा क्षेत्रमा क्यान्सरपीडितको पहिचान समेत गरेको थियो ।

टेलिमेडिसिन सेवा लिन टिष्टुङका मानबहादुर तामाङ १५/१५ दिनमा स्वास्थ्य केन्द्र आइपुग्ने गरेको अभिलेख छ । तामाङ भन्छन्, “काठमाडौं जाने आउने गर्ने हो भने मेरो घर बारी सकिन्थ्यो होला, यहाँ आउँदा गाडी भाडा र आवश्यक औषधि मात्रै हो ।” मानबहादुर सामान्य अवस्थामा पनि दुई हप्तामा एकपल्ट डाक्टरसंग सल्लाह गर्न स्वास्थ्य केन्द्र पुग्छन् ।

थाहा नगरपालिकाकै सान्नानी ढकाल पनि आफूलाई पीडा हुँदा स्काइपबाटै डाक्टरको सल्लाह लिन स्वास्थ्य केन्द्र पुग्छिन् । डाक्टरले भनेको औषधि नियमित खान्छिन् । टेलिमेडिसिनकै सेवाले उपचारमा निकै सहयोग गरेको ढकालको भनाइ छ ।

डाक्टरको छेवैमा बसेर आफ्नो समस्या भन्न अकमकाउने महिलाहरु कम्प्युटरको अघिल्तिर बसेर सहजै आफ्ना समस्या सुनाउने गरेकोे केन्द्रकी नर्सिङ स्टाफ सुनिता थिङ बताउँछिन् ।

केन्द्रमा टेलिमेडिसिनका लागि आउने २० मध्ये ११ जना महिला छन् । उनीहरुको अधिकांशको पाठेघर र स्तन क्यान्सर रहेको केन्द्रले जनाएको छ ।

टेलिमेडिसिन उपचार पद्धतिमा क्यान्सरपीडित मात्र होइन आकस्मिक रुपमा डाक्टरको सल्लाह लिनुपर्ने भएमा अरु किसिमका रोगीहरुलाई पनि सेवा प्रदान गरिरहेको स्वास्थ्य केन्द्रकी नर्सिङ स्टाफ रश्मिता खनालले बताइन् ।

खनाल भन्छिन्, “अपत्कालिन अवस्थामा काठमाडौंमा डाक्टरसँग सम्पर्क गरेर बिरामीलाई आफ्नो रोगको लक्षण तथा समस्याको विषयमा यो प्रविधिबाट कुरा गराउँछौं ।” उनले डाक्टरको सल्लाह अनुसारको औषधि चलाएर धेरै विरामी निको भएर घर फर्केको बताइन् ।

टेलिमेडिसिन सेवाको लागि इन्टरनेट र वेभक्याम जोडिएको कम्प्युटर भए पुग्छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>