समाचारबुधबार, जेठ २८, २०७१
सभासद् रीता शाहीमाथि मुक्का प्रहार
संविधानसभाको बैठकमा भाग लिन पुरानो बानेश्वरबाट टेम्पु चढेर संविधानसभा भवन नयाँ बानेश्वर आइरहेको अवस्थामा टेम्पुभित्रै अपरिचित युवाले कांग्रेस सभासद रीता शाहीको दाहिने गालामा मुक्का प्रहार गरेको छ ।
सभासद् शाही हुम्लाबाट समानुपातिकतर्फकी सभासद हुन् ।
सँगसँगै टेम्पुमा चढेको अपरिचित व्यक्तिले सभासद्् शाहीको पकेट र व्यागमा पटकपटक हात लगाएको शाहीले बताइन् । उक्त व्यक्तिलाई त्यसो नगर्न भनेपछि संविधानसभा भवन पुग्न २०० मिटर अगाडि नै ओर्लिएको उक्त व्यक्तिले ओर्लिंदै गर्दा शाहीमाथि मुक्का प्रहार गरेको थियो ।
मुक्का प्रहारबाट सभासद् शाहीको गाला सुनिएको छ । उनले घटनाको जानकारी सभामुख र गृहमन्त्रीलाई गराएको बताएकी छन् ।
दोस्रो संविधानसभा गठन भएपछि कम्तीमा ६÷७ जना सभासद्ले यस्तो अभद्र व्यवहार व्यहोर्नु परेको गुनासो सभामुखलाई जानकारी गराइसकेका छन् ।
महिला सभासद्हरुको टोलीले आजै उपप्रधान एवम् गृहमन्त्रीलाई महिला सभासद्को आवश्यक सुरक्षा व्यवस्था मिलाउन आग्रह गरेको व्यवस्थापिका–संसद सचिवालयले जनाएको छ ।
