थप समाचारबुधबार, जेठ २८, २०७१
धनकुटामा डकैती गर्ने दुई समूह पक्राउ
जिल्ला प्रहरी कार्यालय धनकुटाले छिन्ताङ र आखिँसल्लामा चोरी तथा डकैतीमा संलग्न पाँच जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । छिन्ताङ्ग गाविस–४ की राजमाया राईको सुन चोरेर फरार आखिँसल्ला गाविस–१ का प्रकाश राई र छिन्ताङ्ग गाविस–४ का भुपाल राईलाई प्रहरीले पक्राउ गरेको छ ।
उनीहरुले २३ चैत २०७० मा राईको एकतोला सुनको कुण्डल र एक तोला ६ आनाको सुनको लकेटसहित सिक्री चोरी गरेको प्रहरीको भनाइ छ । उनीहरुलाई राजधानीको भृकुटीमण्डप र बसपार्कबाट २५ जेठमा पक्राउ गरी धनकुटा ल्याइएको हो ।
चोरीमा संलग्न एक जना अझै फरार रहेको प्रहरी उपरीक्षक ईश्वरीप्रसाद चापागाईले बताए ।
यस्तै, प्रहरीले आखिँसल्ला गाविस–८ गैरीटोलका टुकबहादुर भण्डारीको घरमा नगद र गरगहना डकैती तथा कुटपिटमा संलग्न ३ जनालाई पनि पक्राउ गरेको छ । २० जेठ राति भण्डारी परिवारलाई नियन्त्रणमा लिएर उनीहरुले डकैतीकासाथै कुटपिट पनि गरेका थिए ।
घटनामा संलग्नमध्ये आखिँसल्ला गाविस–६ का नगेन्द्रकुमार राई, सोही गाविस–८ का अशोक भनिने टिकाप्रसाद राई र शरण राईलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
घटनामा संलग्न तीन जना भने फरार रहेका छन् । उनीहरुले रु.५० हजार र ६ तोला सुनचाँदी डकैती गरेका थिए ।
धनकुटाले २८ जेठमा पत्रकार सम्मेलन गरी दुवै समूहलाई सार्वजनिक गरेको हो ।
सन्तोष रुचाल, धनकुटा

