समाचारशुक्रबार, जेठ ३०, २०७१
पार्टीको आधिकारिक अध्यक्ष मै हुँः राणा
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता पशुपति शमसेर राणाले एकता महाधिवेशनले नै चक्रिय प्रणालीले अस्वीकार गरिसकेकोले केन्द्रीय समितिको दुई तिहाई बहुमतले चयन गरेको आफू नै पार्टीको बैद्यानिक अध्यक्ष भएको दावी गरेका छन् ।
राणाले भने, “चक्रिय प्रणालीको विषयमा छलफल भएको थियो तर त्यो त्यती बेलै अस्विकार भएको थियो । पार्टीको विधान अनुसार रिक्त भएको अवस्थामा केन्द्रीय समितिले अध्यक्ष चयन गर्ने ब्यवस्था छ ।”
रिपोर्टर्स क्लब नेपालले ३० जेठमा आयोजना गरेको साक्षात्कारमा उनले कुनै पनि हालतमा पार्टी फुट्न नदिने दावी गर्दै आफूसँग पार्टीलाई फुटबाट बचाउँने धेरै उपाय र विकल्पहरु रहेको दाबी पनि गरे ।
पार्टीका असन्तुष्ट पक्षसँग वार्ता गर्न सहमहामन्त्री हेमजंग गुरुङ र केन्द्रीय सदस्य रोशन कार्की रहेको वार्ता टोली समेत गठन गरिसकेको जानकारी दिदै लोकेन्द्रबहादुर चन्दले कहिल्यै पनि पार्टी नफुटाउने उनले विश्वास व्यक्त गरे ।
‘प्रधानमन्त्रीको स्वास्थ्यले गर्दा सरकार सुस्त’
प्रधानमन्त्री सुशील कोइरालाको खराव स्वास्थ्य अवस्थाले सरकार समेत सुस्त भएको दाबी गर्दै उनले प्रधानमन्त्री उपचार गरेर फर्किएपछि सरकारलाई सक्रिय बनाउन भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरे ।
“संबैधानिक नियुक्ति, राजदूत नियुक्ति र संविधानसभाको रिक्त २६ सदस्य तत्काल मनोनित गर्नु पर्छ । त्यसकोलागि हामि सक्रिय भूमिका खेल्छौ,” राणाले भने ।
‘८ माघभित्र संविधान बन्दैन’
यस पटकको संविधानसभाले संविधान दिने निश्चित भए पनि ८ माघभित्र भने संविधान नबन्ने उनले ठोकुवा गरे ।
राष्ट्रतीय शासन पद्धति र एकल जातीय पहिचान पक्षधरहरु चुनावमा हारेकोले ‘वेष्ट मिनिस्टिरीयल’ शासकीय स्वरुप र बहुजातीय पहिचानसहितको बढीमा आठ प्रदेश सहितको संघीयतामा दलहरुवीच सहमति बन्ने उनको भनाई छ ।
