समाचारशनिबार, जेठ ३१, २०७१

‘एसएलसीको नतिजा खस्कियो, नीति र परीक्षा प्रणाली दोषी’

हिमालखबर

काठमाडौंमा ३१ जेठमा आयोजित साक्षात्कारमा शिक्षा मन्त्रालयका प्रवक्ता महाश्रम शर्माले मुलुकको शैक्षिक प्रणाली र नीतिमै समस्या रहेकाले एसएलसी परीक्षाको नतिजा खस्केको बताउँदै पूरै शैक्षिक संरचनामा पुनःसंरचनाको जरुरी रहेको बताएका छन् ।

“तीन घन्टामा विद्यार्थीलाई परीक्षण गर्ने परीक्षा प्रणाली नै कमजोर छ, अहिलेको परीक्षा प्रणाली सुधार गर्न मन्त्रालय अघि बढेको छ, विद्यालय क्षेत्र सुधार कार्यक्रम त्यसैको एउटा स्वरुप हो, परीक्षा प्रणाली र शिक्षण सिकाइलाई सँगै लैजान जरुरी छ” शर्माले भने ।

प्रवक्ता शर्माले सामुदायिक विद्यालयमा प्रतिविद्यार्थी रु सात हजार र निजी विद्यालयमा रु ४९ हजारसम्म लगानी भएकाले निजी विद्यालयको नजिता राम्रो हुनु स्वभाविक भएको भन्दै विज्ञान, अङ्ग्रेजी र गणित विषयमा यस वर्ष पनि कमजोरी देखिएकाले सुधार गरिनुपर्नेमा जोड दिए ।

परीक्षा नियन्त्रक विष्णुबहादुर द्वारेले पुरानो परीक्षा प्रणालीका कारण एसएलसीको नतिजा खस्केको बताउँदै समस्या शिक्षा नीति र परीक्षा प्रणालीमा भएकाले सबै बसेर समाधान खोज्नुपर्ने औँल्याए ।

निजी तथा आवासीय विद्यालय अर्गानाइजेसन (प्याब्सन) का अध्यक्ष लक्ष्यबहादुर केसीले सरकारी विद्यालयको नतिजा खस्किँदै गएकाले सरकारले शिक्षा क्षेत्रमा लगानीमा जोड दिए ।

शिक्षाविद् डा हृदयरत्न वज्राचार्यले एसएलसी परीक्षा प्रणाली नै असफलसिद्ध भइसकेकाले यसमा परिवर्तनका लागि ठूलो बहसको आवश्यकता भएको बताए ।

उच्च माध्यमिक विद्यालय सङ्घ (हिसान) का अध्यक्ष उमेश श्रेष्ठले लामो समयदेखि परीक्षा प्रणालीमा सुधार हुन नसक्नु र शिक्षामा अतिराजनीतीकरण हुँदा पढाइ हुन नसकेकाले पनि समस्या आएकाले अब सार्वजनिक साझेदारीमा रोजगारमूलक र व्यावसायिक शिक्षा अघि बढाउनुपर्ने जोड दिए ।

यसवर्षको एसएलसीमा ९४.१२ प्रतिशत अंक प्राप्त गरेकी काठमाडौँस्थित अक्सिडेन्टल पब्लिक स्कुलकी छात्रा दृष्टि गिरीले शिक्षा क्षेत्रमा राजनीतीकरण बढेकाले एसएलसीको नतिजा खस्कँदै गएको भन्दै यसप्रति सरोकारवाला गम्भीर हुनुपर्ने बताएकी थिइन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>