थप समाचारमंगलबार, आषाढ ३, २०७१
सवारी दुर्घटनामा दाजुको मृत्यु, बहिनी गम्भीर घाइते
पूर्वपश्चिम राजमार्ग अन्तर्गत सप्तरीको भारदह बजारमा ३ असार दिउँसो मालबाहक ट्रकले ठक्कर दिँदा मोटरसाइकलमा सवार एक जनाको मृत्यु र एक जना गम्भीर घाइते भएका छन् ।
पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ३ ख ७९८७ नम्बरको मालबाहक ट्रकले विपरित दिशातर्फ जाँदै गरेको को.४ प ४६३० नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो ।
ठक्करबाट मोटरसाइकल चालक इलामका बौद्ध ८ निवासी ३७ बर्षीय अशोक राईको ज्यान गएको छ । उनको घट्नास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय भारदहले जनाएको छ । मोटरसाइकलमा पछाडि बसेकी मृतक राईकी बहिनी ३० बर्षीया लक्ष्मी राई गम्भीर घाइते भएकी छिन् । उनको दुबै खुट्टामा गम्भीर चोट लागेको छ ।

मृतकको शवलाई पोष्टमार्टमका लागि तथा घाइते लक्ष्मीलाई उपचारका लागि धरानस्थित बि.पि. कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान पठाइएको तथा ठक्कर दिने ट्रक र चालक सिन्धुपाल्चोकको राम्खे ५ निवासी २६ बर्षीय सूर्यबहादुर कार्कीलाई नियन्त्रणमा लिएको भारदह प्रहरीले जनाएको छ ।
पहिले ठक्कर दिएर घाइते बनाएपछि फेरि ट्रकले किचेर मारेको भन्दै स्थानीयहरुले दुई घण्टा राजमार्ग अवरुद्ध गरेका थिए ।
अवरुद्ध राजमार्ग प्रहरीले खुलाएको छ ।
श्रवणकुमार देव, राजविराज
