समाचारमंगलबार, आषाढ ३, २०७१
एआइजीमा बढुवाको बाटो खुल्ला, अन्तरिम आदेश खारेज
बढूवा सिफारिसमा नपरेका डीआईजी पर्शुराम खत्रीले दायर गरेको रिटमा २६ जेठमा अन्तरिम आदेश जारी गर्दै पुनरावेदन अदालत ललितपुरले मुद्दाको टुंगो नलागेसम्म सिफारिस कार्यान्वयन नगर्न आदेश दिएको थियो ।
न्यायाधीश रामेश्वरमान अमात्यको एकल इजलासले दिएको आदेशमा निवेदनको अन्तिम टुङ्गो नलागेसम्म बढुवा समितिको सिफारिस निर्णय कार्यान्वयन नगर्न नगराउन आदेश जारी गरेको थियो ।
३ असारमा न्यायाधीशद्वय द्वारिकामान जोशी र डम्बरबहादुर शाहीको संयुक्त इजलाशले यसअघि दिएको अन्तरिम आदेश खारेज गरेर डिआइजीको एआइजीमा बढुवाको ढोका खुल्ला गरिदिएको छ । बढूवा सिफारिसमा परेका ६ डीआईजीले अन्तरिम आदेश खारेजीका लागि निवेदन दिएका थिए ।
आदेशमा अन्तरिम आदेश जारी नगर्दा अपूरणीय क्षति हुने नदेखिएको भनेको छ ।
डीआईजी राजेन्द्रसिंह भण्डारी, सुरेन्द्रबहादुर शाह, विज्ञानराज शर्मा, प्रतापसिंह थापा, वीरेन्द्रबहादुर श्रेष्ठ, रमेशशेखर बज्राचार्य र केदार साउद एआईजी बढूवाको सिफारिसमा परेका थिए ।
