समाचारबुधबार, आषाढ ४, २०७१
सेना र स्थानीयबीच झडप, ६ घाइते
३ असार राति माछा मार्ने विषयमा सैनिक र स्थानीयबीच भएको झडपमा तीन सैनिक र दुई स्थानीय घाइते भएका छन् । घटनाबारे थाहा पाएपछि नियन्त्रणका लागि गएको प्रहरी टोलीमाथि समेत आक्रमण हुँदा एक जना प्रहरी घाइते भएको चितवनका प्रहरी नायब उपरीक्षक शान्तिराज कोइरालाले जानकारी दिए ।
कोइरालाका अनुसार घाइतेको अहिले भरतपुर मेडिकल कलेजमा उपचार भइरहेको छ । घटनाको अनुसन्धान थालिएको उनले बताए । घाइतेको भने नाम खुलाइएको छैन ।
चिवतन निकुञ्जको आसपास मध्यवर्ती क्षेत्रको नदी–खोलामा स्थानीयले माछा मार्न थालेपछि निकुञ्ज सुरक्षार्थ खटिएका सैनिकले रोक्न खोज्दा झडप भएको बुझिएको छ ।
मध्यवर्ती क्षेत्रमा अनुमति बिना माछा मार्न नपाइने भए पनि स्थानीयले त्यहाँ माछा मार्दै आएका थिए ।
माछा मार्ने विषयमा विवाद भएको भनिए पनि यकीन कारणबारे भने जानकारी आइनसकेको प्रहरीले जनाएको छ ।
झडपपछि स्थानीयले नेपाली सेनाको गाडीसमेत नियन्त्रणमा लिएका छन् ।
रासस
