समाचारबुधबार, आषाढ ४, २०७१
पदको लोभ देखाउने काम छाडौंः नेता नेपाल
एमाले वरिष्ठ नेता नेपालले धम्कीको प्रयोग तथा पदको प्रलोभन दिने काम बन्द गर्नुपर्नेमा जोड दिएका हुन् । नवलपरासीको कावासोतीमा ४ असारमा भएको कार्यकर्ता भेलालाई संबोधन गर्दै उनले भने, “धम्कीको प्रयोग र पदको लोभ देखाउने प्रवृत्तिले पार्टी नेतृत्व गर्दा महल झैं ठडिएको एमाले तासको घरमा परिणत हुन्छ ।”
उनले गतिशिल र उर्जावान नेतृत्व छान्न कार्यकर्तालाई आग्रह पनि गरे । अर्का नेता केपी ओलीप्रति लक्षित गर्दै उनले व्यक्तिगत स्वार्थका लागि पार्टी सत्ता कब्जा गर्ने विधि अपनाउने विचार र प्रवृत्तिले जनताको निम्ति काम नगर्ने बताए । “लोकतान्त्रिकरणको नाममा पार्टीको क्रान्तिकारी धार भुत्ते पार्ने प्रवृत्ति गुटको लागि मात्र हो,” उनले भने ।
उनले महाधिवेशनमा दस्तावेज एउटै भएपनि नेतृत्वमा विचार र प्रवृत्तिको लडाई भएको बताए । उनले भने, “विचार गौड रहँदा दुई नेताको ब्यक्तित्वको टकराव छ, त्यो दुई बीचको प्रवृत्ति विरुद्धको टक्कर हो ।”
“अहिले कार्यकर्ताको संरक्षण गर्ने, नेतृत्वमा स्पष्टता, गतिशिल बन्ने, कम्युनिष्ट आन्दोलनको मूलप्रवाह बन्ने बेला आएको छ,” उनले भने, “त्यसका लागि नेतृत्व दिन तयार छु ।”
उनले नेतृत्व हस्तान्तरण आलोपालो हुन नसक्ने बताए । “प्रतिस्पर्धा गर्ने नीति अबलम्बन गरेपछि खुट्टा कमाएर हुँदैन, मैदानका लागि तयार हुनुपर्छ,” उनले भने ।
विद्रोही गिरी, नवलपरासी

