थप समाचारबुधबार, आषाढ ४, २०७१

पीडाको सिजन

हिमालखबर


– श्रीलाल साह रुकुम/डोल्पाबाट फर्केर

तस्वीरहरुः श्रीलाल साह

यो यार्सागुम्बाको सिजन हो। हिमाली क्षेत्रमा अहिले लाखौं मानिस यार्सा टिप्न व्यस्त छन्। तीमध्ये २५ प्रतिशतले दशौं लाख आर्जन गर्छन्, ५० प्रतिशतले रु.२ लाखसम्म कमाउँछन् र २५ प्रतिशत पीडा बोकेर फर्किन्छन्। यार्सा संकलन क्षेत्रमा होटल र अन्य उपभोग्य वस्तुहरूको व्यापार गर्नेहरू पनि कमाउनेमै पर्छन्।

यार्साको सिजनमा विकट हिमाली भूभागहरू मेलास्थलमा परिणत हुन्छन्। रमाइलो मेलाहरूको अँध्यारो पाटोमा भने दुःख, पीडा र धोकाधडीको राज हुन्छ।

यसको एक उदाहरण उत्तरी रुकुमको रन्मामैकोट धारागाउँकी अदी पुनमगर (४५) हुन्। उनले सात वर्षअघि श्रीमान् लदै पुनमगरसँगै यार्सा टिप्न जाँदा जुम्ल्याहा छोराछोरी जन्माइन्, तर हिमाली जाडोमा नवजात शिशुहरू बाँच्न सकेनन्। अर्को साल अदीले लदैलाई पनि गुमाइन्।

यो सिजनमा मैकोट पाटन पुगेकी अदीले भिरालो पाखोतिर देखाउँदै भनिन्, “त्यतैतिर चर्न छोडेको घोडा हराएर खोज्न जानुभएको, फर्कनुभएन।”

त्यसपछि श्रीमान्लाई पर्खंदा पर्खंदै यार्सा टिप्ने सिजन नै सकियो। सबै घर फर्किन थालेपछि अदी पनि श्रीमान् घरै पुग्नुभयो कि भन्ने आशा लिएर फर्किइन्। तर, लदै घर पुगेका थिएनन्।

बाटो हेर्दाहेर्दै अर्को सिजन शुरू भएपछि गाउँलेहरू यार्सा र अदी श्रीमान् खोज्न हिंडे। अहिले पाटनमा जता हेर्दा पनि अदीको आँखा आँशुले भरिन्छ। “यार्सा देख्दिनँ, उहाँको अनुहार मात्र देख्छु”, अदीले भनिन्।

बर्बादै भयो

यार्सा टिप्न हिंडेका रोल्पा सराङ्गकुस्माका ५० वर्षीय सन्ते घर्ती मगर ५ जेठमा रुकुमको दुले बजार पुगे। बेलुका मादक पदार्थ सेवन गरेर आफ्नै दाजुभाइ खलकमा झगडा परेपछि काका पर्ने रामकाजी घर्ती र लक्ष्मण घर्तीले उनलाई निर्घात कुटपिट गर्नुका साथै देब्रे कान कर्यारपकुरुप चपाइदिए।

यार्सा टिप्न आएका रोल्पा, थवाङ्गका अहेब धनु बुढाले भित्र पनि चोट लागेकोले उपचारका लागि काठमाडौं जानुपर्छ भनेको सन्तेले बताए।

यार्सा संकलन क्षेत्रमा देखिने भारु एक हजार दरका नोटका बिटा सहितका यस्ता दृश्यले यो कारोबारको त्यो पाटो देखाउँछ, जसमा सरकारले चासो दिएको छैन।

६ जेठमा रामकाजी र लक्ष्मण इलाका प्रहरी कार्यालय रन्मामैकोटको हिरासतमा थिए। त्यहाँका सई जनक बुढाले कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय, रुकुम र बिरामीलाई हेलिकप्टरबाट नेपालगञ्ज पठाउने तयारी भइरहेको बताए।

उनले यार्सा सिजनभरि यस्ता घटना बाक्लै हुने बताउँदै भने “अनेक झ्मेलामा परेर फर्कने थुप्रै छन्।”

यार्सा संकलन क्षेत्रमा देखिने भारु एक हजार दरका नोटका बिटा सहितका यस्ता दृश्यले यो कारोबारको त्यो पाटो देखाउँछ, जसमा सरकारले चासो दिएको छैन।

बेखर्चीले बेहाल
रुकुम, बाँस्कोटका टीकाराम जैसी (४०) सहितका आठ जनाको टोली बेखर्ची भएर दशौं दिनमा मैकोट पाटनबाट घर फर्के।

उनीहरूलाई यार्सा सिजन व्यवस्थापन समिति र केही स्वयंसेवकले अहिले टिप्ने वेला नै भएको छैन भन्दै पाँच दिनसम्म दुलेमै रोकेको थियो। त्यहाँ पाल हालेर करीब आठ हजार मानिस बाटो खर्च सक्दै बसेका थिए।

टीकारामको टोली भने प्रतिव्यक्ति रु.३ हजारको रसिद काटेपछि अघि बढ्न पायो। त्यसपछि ७ जेठमा मैकोट पाटन आइपुगेका उनीहरूले यार्सा खोज्दा एउटै भेटेनन्।

“समितिका मानिसहरूले पहिल्यै यार्सा टिपेर हामीलाई खुला गरेका रहेछन्”, टीकारामले भने, “हामी बेखर्ची भएकोले अरूको भारी बोकेर फर्किन बाध्य भयौं।”

सबतिर उस्तै
मैकोटमा भेटिएका माथिका तीन जना यार्सा पाइने २५ वटा हिमाली जिल्लाका प्रतिनिधि पात्र हुन्। उनीहरूको पीडा–व्यथा यार्साको मूल्यमा दबिएका छन्। १० हजारसम्म मानिस पुग्ने मैकोट पाटनमा राजस्व संकलनका हिसाबले एक सिजनमा १६० किलो यार्सा पाइएको रेकर्ड छ। तर, उक्त रेकर्ड घटेर ६० किलो कायम भएको छ।

कारण प्रष्टै छ, सरकारी नीति र निगरानीको अभावमा संकलित यार्सा राजस्व तिर्न नपर्ने बाटोतिर हराउँछ। अदी, सन्ते, टीकाराम, रामकाजी र लक्ष्मणहरूको भागमा पर्छ केवल पीडा, अपमान र पश्चात्ताप।

समृद्धिको स्रोत हुनुपर्ने यार्सा एकातिर समाजमा छलकपट, चोरी–डकैती, बेइमानी, जुवातास र रक्सीजन्य विकृतिको कारक भइरहेको छ भने अर्कोतिर सुन्दर हिमाली पाटन (नागी) हरू प्लास्टिक, टीनका बट्टा, बोतल आदिले छोपिंदै गएका छन्।

यार्सा विवादले हत्या
प्राकृतिक स्रोतमाथिको पहुँचसम्बन्धी विवादका कारण कतै झडप भएको छ भने कतै मानिसको ज्यानै जानेसम्मका घटना भएका छन्। मध्यपश्चिमका प्रहरी डीआईजी केशबहादुर शाहीका अनुसार, यार्सा संकलनका क्रममा भएका विभिन्न घटनामा अहिलेसम्म १२ जनाको ज्यान गइसकेको छ।

२० जेठमा मात्र माथिल्लो डोल्पामा यार्सागुम्बा संकलनका लागि गएकाहरुबीच झडप भएको थियो। झडपलाई नियन्त्रणमा लिन प्रहरीले दर्जनौं राउण्ड गोली र अश्रुग्याँस फायरिङ गरेको थियो। यार्सा संकलन गर्न गएकाहरुसँग रोयल्टी उठाउने विषयमा मतभेद भएपछि विवाद बढेको हो।

यार्सागुम्बा संकलन गर्न आएको नाममा मनाङको नार गाउँमा २२ असार २०६६ मा गोरखा केरौंजाका सात जनाको हत्या भएको थियो। बहुमूल्य यार्सागुम्बा टिप्न बाहिरी जिल्लाबाट आफ्नो लेकमा आएको भन्दै स्थानीयवासीले केरौंजाका सात जनाको हत्या गरेका हुन्। नारवासीले केरौंजाका शोभर गुरुङ र ज्ञानबहादुर गुरुङलाई झुनाम लेकमा तथा कामी गुरुङ, ध्रुवबहादुर गुरुङ, वीरबहादुर गुरुङ र आइतराम गुरुङलाई लखेटेर घाङराङ लेकमा कुटी–कुटी हत्या गरेका थिए।

नार हत्याकाण्डपछि मनाङमा बाहिरी जिल्लाका मानिसलाई यार्सा टिप्न पूर्ण रुपमा प्रतिबन्ध लगाइएको छ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>