समाचारशुक्रबार, आषाढ ६, २०७१
दाहाल भन्छन, ‘संविधान बन्ने निश्चित छैन’
डडेल्धुरामा ६ असार विहान आयोजित पत्रकार सम्मेलनमा बोल्दै एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले यसपटकको संविधानसभाले पनि संविधान जारी गर्छ भन्ने कुनै ‘ग्यारेन्टी’ नभएको टिप्पणी गरेका छन् । उनले कांग्रेस र एमालेले यथास्थितिवादी संविधान बनाउन खोजेको र आफूहरुलाई त्यस्तो मान्य नहुने बताए ।
“यथास्थितिवादी संविधान बनाउने कुरामा हाम्रो सहमति हुँदैन,” अध्यक्ष दाहालले भने, “हामी पहिले पनि प्रगतिशील संविधानका पक्षमा थियौँ र अहिले पनि छौं ।”
नयाँ संविधान बनाउन सबैले लचकता अपनाउनु पर्ने बताएका दाहालले एमालेका कारण अहिलेसम्म २६ सभासद् मनोनयन हुन नसकेको आरोप लगाए ।
राज्य पुनःसंरचनाका सन्दर्भमा बोल्दै दाहालले भने, “एकल जातीय राज्यका पक्षमा हामी कहिल्यै छैनौँ ।” उनले थपे, “हामीले पहिचानसहितको सङ्घीयताको कुरा गरेका हौं ।”
रासस
