समाचारशुक्रबार, आषाढ ६, २०७१
चार करोडको यार्सागुम्बा र नगद लुटियो
यार्सागुम्बा सङ्कलन गर्न डोल्पाको नाउरे पाटन गएका व्यापारी र सर्वसाधारण राति सुतिरहेको बेला ५ असार राति १२ जना हतियारसहित आएका लुटेराको समूहले नगद र संकलित यार्सागुम्बा गरेर रु ४ करोड लुटेर लगेको प्रहरीले बताएको छ ।
राति सुतिरहेका बेलामा एक्कासि पालमा पसी ‘तिमीहरु सबै घोप्टो पर, नत्र गोली हान्छु’ भनेर धम्क्याएपछि सबै चुप बसेका र उनीहरुको नगद र यार्सागुम्बा लुटेर लगेको बताइएको छ ।
लुटपाट से–फोक्सुण्डो राष्ट्रिय निकुञ्जको क्षेत्रभित्र भएकाले ६ असार बिहान से–फोक्सुण्डो निकुञ्जबाट नेपाली सेनाको एक टोली र जिल्ला प्रहरी कार्यालय डोल्पाबाट प्रहरी नायब उपरीक्षक मोहनप्रसाद पोखरेले नेतृत्वको ११ सदस्यीय अर्को टोली घटनास्थलतर्फ गएको डोल्पाका प्रमुख जिल्ला अधिकारी कृष्ण खनालले बताएका छन् ।
त्यसैगरी, रिग्मो पोस्टबाट नेपाली सेनाको एक टोली घटनाको जानकारी पाएलगत्तै घटनास्थलतर्फ गएको नेपाली सेनाले बताएको छ ।
दुनै सदरमुकामबाट तीन दिन पैदल हिँडेपछि मात्र सो घटनास्थलमा पुगिने भएका कारण थप जानकारी आउन समय लाग्ने प्रजिअ खनालले बताए ।
रासस
