समाचारशुक्रबार, आषाढ ६, २०७१
पहिरोले प्यूठानमा ५ को मृत्यु (अपडेट तस्वीरसहित)
५ असार राति परेको पानीले पहिरो गएपछि प्यूठान खुङका प्रेमबहादुर गिरी, देवा भण्डारी र डोमबहादुर गिरीको घर गोठ बगेको छ । पहिरोमा पुरिएर प्रेमबहादुर गिरीका २ वर्षीय छोरी आयसा र १० महिनाको छोरा आशिसको मृत्यु भएको छ ।
त्यसैगरी ४० वर्षीया देवा भण्डारी र ५० वर्षका डोमबहादुर गिरीको पनि मृत्यु भएको छ भने बाटोमा हिंडिरहेका खुङ–७ का २६ वर्षीय राजु कुँवरलाई पनि एक्कासी आएको पहिरोले पुर्दा ज्यान गएको छ ।
कुँवरको शव करिव २ सय मिटर तल सिलिविसौना भन्ने ठांऊमा फेला परेको घटनास्थलबाट प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङ्गले जानकारी दिएका छन् । सवै शवहरुलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल बिजुवार ल्याईदैछ ।
राति एक्कासी आएको बाढि सहितको पहिरोले ३ वटा घर र ७ वटा गोठ बगाएपछि बस्तुभाउ, लत्ताकपडा, अन्नपात सवै नष्ट भएको छ ।
उद्धारमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना खटिएका छन् । बाढिले बगाएको घरको कुनै नाम निसान छैन् भने त्यसठाउँमा खोल्सो बनेको छ । करिव ३० रोपनी अन्नवाली सहितको खेतियोग्य जमिन पनि पुरिएको छ ।
यस्तै खुङ–४ ठूलावेशी बजारमा बाढि पसेको छ । स्थानीयले भागेर ज्यान बचांए पनि बजार क्षेत्र पुरै डुवानमा परेको छ ।
कालो बादल र अध्याँरो मौषम भइरहँदा अहिले पनि स्थानीय त्रसित छन् । खुङ क्षेत्रमा रहेका २० बढी घरहरु जोखिममा रहेको स्थानीय धनु गिरीले जानकारी दिएका छन् ।
शब्द/तस्वीर: विजयसिंह भारती, प्यूठान
प्यूठानमा पहिरो, ३ को मृत्यु २ वेपत्ता
