थप समाचारशनिबार, आषाढ ७, २०७१
निपाने पहिरोः बैरीले नौ जनालाई एकैपटक लग्यो
साँझदेखि आकाश गर्जिन थाल्यो र ७ बजेदेखि ठूलै झरी लाग्यो । मेलापात गरेर थाकिएका गुल्मी, अग्लुङ–८ निपानेका ६३ वर्षीय भविलाल कुँवरको परिवार सुत्ने तरखरमा थियो ।
भविलालकी ३० वर्षीया बुहारी सीता दुई बर्षकी छोरी विपनालाई काखी च्यापेर दुध चुसाउँदै थिइन् । अरु एक छोरा र तीन छोरी निदाइसकेका थिए ।
५ असार राति करिब ९ बजे घरमाथिबाट एक्कासी पहरो खसेपछि उनीहरु त्यहीं पुरिए ।
“६ असार विहान पहिरो खोस्रेपछि सीताको शव छोरीलाई दुध चुसाउँदै गरेको अवस्थामा भेटियो भने अरु केटाकेटी पनि ओछ्यानमै देखिए,” स्थानीय सामाजिक कार्यकर्ता इन्दिरा चन्द भन्छिन, “सबैजनाको लास जस्तो सुतेका थिए, तेस्तै अवस्थामा थियो, सास मात्रै थिएन ।”
मृतक कुँवरका दुईछोरा रोजगारीका विदेशमा छन् । निम्न आर्थिक अवस्थाको कुँवर परिवार पुरानो र कमजोर घरमा बस्दै आईरहेका थिए ।
५ असार राति झरेको पहिरोले एकै घरका ९ जनाको मृत्यु भयो । ६३ वर्षीय भविलाल कुँवर, उनकी श्रीमती ६० वर्षीया चेती, बुहारी ३० वर्षीया सीता, नातिनीहरु ४ वर्षकी हरिकला, ८ वर्षकी विन्दु र २ वर्षकी विपना, नाति १० वर्षका चेतमान, भाईकी छोरी ६ वर्षकी भीमा, र छोेरी अन्दाजी ४० वर्षकी जुठी विष्टको एकै चिहान भयो ।
“भविलालको घर पहिरोले निलेको देखे पनि ठूलो झरी अँध्यारो रात हुँदा गाउँलेलाई तुरुन्तै जुटाउन सकिएन, छिटै उद्धार गर्न सकेको भए यत्रो नोक्सान हुन्नथ्यो कि,” छिमेकीले उदेक मान्दै भने ।
अग्लुङ गुल्मीको सदरमुकाम तम्घासबाट करीव ४२ कोष टाढा पश्चिमी प्यूठानसँग सीमा जोडएकोे दुर्गम गाविस हो ।
५ असारबाट परेको वर्षाका कारण अग्लुङको धेरै ठाउँमा पहिरो गएको छ । भने त्यहाँका अरु घरहरु पनि जोखिमपूर्ण अवस्थामा छन् ।
पहिरोले अग्लुङ–४ का जुठे परियार र धन बहादुर परियारको घर पनि पुरेको छ । त्यस्तै वार्ड नं २ का कृष्ण विकको घर पनि पहिरोले पुरेको प्रहरीले जनाएको छ ।
त्यसै दिन दिउँसो अग्लुङलाई खुल्ला दिशामुक्त, पूर्ण खोप र पूर्ण साक्षर गाविस घोषणा गरेर सरकारका मुख्य सचिव लिलामणी पौडेल, प्रमुख जिल्ला अधिकारी कमलराज ढकाल, डा.राजेन्द्र बोहोरा, स्थानीय नेताहरुको टोली फिर्ता भएको थियो ।
गगनशिला खड्का, गुल्मी

